सर्लाही – सार्वजनिक स्थानमा पेस्तोलजस्तो देखिने हातहतियार प्रदर्शन गर्दै नृत्य गरेको भिडियो सामाजिक सञ्जाल फेसबुकमा पोस्ट गरेको आरोपमा धनुषाकी एक युवतीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार पक्राउ पर्नेमा नगराइन नगरपालिका–६ निवासी अन्दाजी २६ वर्षीया नजिमा खातुन रहेकी छन्। उनले सार्वजनिक स्थानमा पेस्तोलजस्तो देखिने हातहतियार प्रदर्शन गर्दै नृत्य गरेको भिडियो फेसबुकमा अपलोड गरेको प्रहरीको भनाइ छ।

उक्त गतिविधिले समाजमा हिंसा तथा त्रास फैलाउन प्रेरित गर्न सक्ने देखिएपछि प्रहरीले घटनाबारे अनुसन्धान अघि बढाएको जनाएको छ। सोही क्रममा प्रहरी टोलीले खातुनलाई कात्तिक ४ गते राति करिब ९ः३० बजे गणेशमान चारनाथ नगरपालिका–९ बाट नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार पक्राउ परेकी खातुनलाई इलाका प्रहरी कार्यालय सबैलामा राखिएको छ। उनीमाथि प्रचलित कानुनबमोजिम कारबाही प्रक्रिया अघि बढाउनुका साथै घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।





