सर्लाही – धनुषामा आपराधिक लाभ लिन खोजेको तथा बाल यौन दुरुपयोगको कसुरमा संलग्न रहेको आरोपमा प्रहरीले चार जनालाई नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार असोज ४ गते राति करिब १० बजे जनकपुरधाम उपमहानगरपालिका – २० मा एक जना बालिका र एक जना युवक पैदल हिँडिरहेको अवस्थामा दुईवटा मोटरसाइकलमा आएका चार जनाको समूहले उनीहरूलाई घेरेर कुटपिट गरेको सूचना प्राप्त भएको थियो।

सूचनापछि खटिएको प्रहरी टोलीले असोज ५ गते बिहान करिब ३ बजे घटनामा संलग्न रहेको आरोपमा चार जनालाई मोटरसाइकलसहित नियन्त्रणमा लिई प्रारम्भिक अनुसन्धान अघि बढाएको हो।
प्रहरीका अनुसार आरोपितहरूले पीडितहरूलाई घेरा हाली भिडियो बनाएको, उक्त भिडियो सामाजिक सञ्जालमा सार्वजनिक गरिदिने धम्की दिएको तथा अभिभावकलाई फोन गरी धम्क्याउँदै मोबाइल बैंकिङमार्फत ६ हजार रुपैयाँसमेत स्थानान्तरण गर्न लगाएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
त्यसैगरी, बालिकाको संवेदनशील अंगमा गलत मनसायले छुनेलगायतका हर्कत गरेको आरोपसमेत उनीहरूमाथि लागेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।
पक्राउ पर्नेहरूमा जनकपुरधाम उपमहानगरपालिका – २० बस्ने २३ वर्षीय सुकन महतो, सोही स्थानका २६ वर्षीय सन्तोष कुमार दास, सोही स्थानका २२ वर्षीय पनेश कुमार महतो र सोही स्थानका ३० वर्षीय सुजित महतो रहेका छन्।
प्रहरीले उनीहरूको साथबाट ज १२ प ७७७७ र मधेश प्रदेश ०२–०१ प २९०२ नम्बरका दुईवटा मोटरसाइकलसमेत नियन्त्रणमा लिएको छ। घटनामा संलग्न व्यक्तिहरूमाथि आपराधिक लाभ लिन नहुने तथा बाल यौन दुरुपयोग गर्न नहुनेसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।





