सर्लाहीमा ईभी र केमिकल बोकेको ट्रक ठोक्किँदा १२ जना घाइते

२०८३ कार्तिक ८, शनिबार १६:३९
सांकेतिक तस्बिर

सर्लाही – सर्लाहीको ईश्वरपुर नगरपालिका – १२ स्थित पूर्व–पश्चिम राजमार्गमा यात्रुवाहक विद्युतीय भ्यान (ईभी) र साबुन बनाउन प्रयोग हुने केमिकल बोकेको ट्रक एकआपसमा ठोक्किँदा १२ जना घाइते भएका छन्।

प्रहरीका अनुसार पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको मधेश प्रदेश ०४–००१ ज ००५७ नम्बरको ईभी गाडी र विपरीत दिशाबाट आउँदै गरेको कोशी प्रदेश १–०२–००२ ख १३२४ नम्बरको ट्रक एकआपसमा ठोक्किँदा दुर्घटना भएको हो।

दुर्घटनामा ईभी चालकसहित १२ जना घाइते भएका छन्। घाइते सबैलाई उपचारका लागि लालबन्दीस्थित मोडल अस्पताल पठाइएको थियो। घाइतेमध्ये बाराको सुवर्ण गाउँपालिका–४ निवासी ३७ वर्षीय रञ्जित रामको अवस्था गम्भीर रहेको र उनलाई थप उपचारका लागि बारास्थित एलएस न्युरो अस्पताल पठाइएको छ।

घाइतेमध्ये ईभी चालक बारा जिल्लाको महागढीमाई नगरपालिका–६ निवासी ४१ वर्षीय कामेश्वर सहनी र सुवर्ण गाउँपालिका–४ निवासी ४५ वर्षीय भवन रामको अवस्था मध्यम रहेको छ। त्यस्तै, कलैया उपमहानगरपालिका–२६ निवासी ३७ वर्षीय उमेश रामको अवस्था पनि मध्यम रहेको छ।

अन्य घाइतेहरूमा महागढीमाई नगरपालिका–९ निवासी ४८ वर्षीय राजेन्द्र राम, सुवर्ण गाउँपालिका–४ निवासी ४० वर्षीय राजदेव राम र विनोद राम, ४७ वर्षीय रुदल राम र सुवर्ण गाउँपालिका–७ निवासी ६३ वर्षीय हरिहर राम रहेका छन्।

यस्तै, कलैया उपमहानगरपालिका–२६ निवासी ३७ वर्षीय नन्दन राम, पचरौता नगरपालिका–७ निवासी ५५ वर्षीय रामसन्देय राम तथा सिम्रौनगढ गाउँपालिका–४ निवासी ४० वर्षीय नवलकिशोर राम रहेका छन्। उनीहरूको अवस्था सामान्य रहेको छ।

दुर्घटनापछि ट्रक चालक मोरङको बूढीगंगा गाउँपालिका–४ क्याम्पसचोक निवासी करिब ३५ वर्षीय विष्णुप्रसाद चौलागाईंलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय केशरगञ्ज पठाइएको छ।

दुर्घटनामा संलग्न दुवै सवारीसाधनलाई प्रहरी चौकी फूलजोरमा राखिएको छ। दुर्घटनाका कारण राजमार्गमा सडक अवरोध भने भएको छैन। घटनाबारे थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार