धनुषामा श्रीमतीको हत्या गरेपछि श्रीमान् झुन्डिएको अवस्थामा मृत फेला, छोरा पनि घाइते

२०८३ कार्तिक ९, आईतवार ०८:४२
सांकेतिक तस्बिर

सर्लाही – धनुषामा पारिवारिक विवादका क्रममा श्रीमतीको धारिलो हतियार प्रहार गरी हत्या गरेको आरोप लागेका एक पुरुष आफैँ पनि मृत फेला परेका छन्। घटनामा उनीहरूका चार वर्षीय छोरा गम्भीर घाइते भएका छन्।

धनुषाको मिथिला बिहारी नगरपालिका–३, मिथिलेश्वर मौवाहीस्थित ससुरालीमा शनिबार राति करिब ९ बजे घटना भएको हो। गणेशमान चारनाथ नगरपालिका–४, भरतपुर निवासी ३५ वर्षीय उमेश यादवले ३० वर्षीया श्रीमती रिना यादव र चार वर्षीय छोरा सम्राट यादवमाथि धारिलो हतियार प्रहार गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

प्रहरीका अनुसार श्रीमती रिनाको घाँटीमा धारिलो हतियार प्रहार हुँदा घटनास्थलमै मृत्यु भएको थियो। आक्रमणबाट बालक सम्राटको दाहिने तिघ्रामा गहिरो चोट लागेको छ।

घटनाको सूचना पाएपछि इलाका प्रहरी कार्यालय धनुषाधामबाट खटिएको प्रहरी टोलीले घटनास्थल पुगेर अनुसन्धान सुरु गरेको थियो। घाइते बालकलाई स्थानीय क्लिनिकमा प्राथमिक उपचार गराएपछि थप उपचारका लागि मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको प्रादेशिक अस्पताल, जनकपुर पठाइएको प्रहरीले जनाएको छ।

घटनामा प्रयोग भएको चक्कुसमेत प्रहरीले बरामद गरेको छ। श्रीमती र छोरामाथि आक्रमण गरेपछि फरार भएका उमेशको खोजी गर्दा तत्काल फेला पार्न नसकिएको प्रहरीले जनाएको छ।

खोजीका क्रममा घटनास्थलबाट करिब एक किलोमिटर पश्चिम सिर्सिया जाने बाटोछेउमा रहेको आँपको रूखमा उनी झुन्डिएको अवस्थामा मृत फेला परेको प्रहरीले जनाएको छ। प्रारम्भिक विवरणअनुसार उनी आइतबार बिहान मृत अवस्थामा भेटिएका हुन्।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार