मलंगवा – सर्लाहीको लालबन्दीबाट लागुऔषध नाइट्राजेपामका १ हजार ५०० ट्याब्लेटसहित एक युवक पक्राउ परेका छन्। सोमबार लालबन्दी नगरपालिका – ४ स्थित जब्दी पुल नजिकको भित्री सडकखण्डमा संयुक्त चेकजाँचका क्रममा उनलाई पक्राउ गरिएको हो।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका निमित्त प्रहरी प्रवक्ता तथा सूचना अधिकारी प्रहरी निरीक्षक किशोर केसीका अनुसार लालबन्दीबाट जब्दीतर्फ जाँदै गरेको बागमती प्रदेश ०२–०५४ प १४४९ नम्बरको स्कुटर शंकास्पद लागेपछि चेकजाँच गरिएको थियो।

सोही क्रममा स्कुटरको डिकीमा हरियो कपडाको झोलाभित्र लुकाइछिपाइ राखिएको नाइट्राजेपाम लेखिएको १ हजार ५०० ट्याब्लेट फेला परेको प्रहरीले जनाएको छ। पक्राउ पर्नेमा सर्लाहीको लालबन्दी नगरपालिका – २, नवलपुर निवासी २४ वर्षीय विशाल प्रधान रहेका छन्।
उनलाई लागुऔषधसहित नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय लालबन्दीबाट थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।





