वैदेशिक रोजगारीमा जानेको संख्या बढ्यो, तीन महिनामै २ लाखभन्दा बढीले लिए श्रम स्वीकृति

२०८३ कार्तिक १०, मंगलवार १३:५८

सर्लाही – वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या बढ्दै गएको देखिएको छ। चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिनामा अघिल्लो वर्षको सोही अवधिको तुलनामा बढी नेपालीले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएका छन्।

वैदेशिक रोजगार विभागको तथ्यांकअनुसार साउनदेखि असोजसम्म कुल २ लाख ४ हजार २४८ जनाले वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएका छन्। अघिल्लो आर्थिक वर्ष २०८२/८३ को यही अवधिमा २ लाख ७१६ जनाले श्रम स्वीकृति लिएका थिए। यसअनुसार गत वर्षको तुलनामा चालु आर्थिक वर्षको पहिलो तीन महिनामा ३ हजार ५३२ जना बढीले श्रम स्वीकृति लिएका छन्।

विभागका अनुसार चालु आर्थिक वर्षको असोज महिनामा मात्रै ७३ हजार ७६५ जनाले श्रम स्वीकृति लिएका छन्। तीमध्ये ६३ हजार ३७७ पुरुष र १० हजार ३८८ महिला छन्। गत वर्षको असोजमा ५६ हजार ६२५ पुरुष र ८ हजार ९ जना महिला गरी कुल ६४ हजार ६३४ जनाले श्रम स्वीकृति लिएका थिए। गत वर्षको असोजको तुलनामा यस वर्ष सोही महिनामा श्रम स्वीकृति लिनेको संख्या ९ हजार १३१ ले बढेको छ।

महिनागत विवरण हेर्दा चालु आर्थिक वर्षको साउनमा ७० हजार ४४१ र भदौमा ६० हजार ४२ जनाले श्रम स्वीकृति लिएका थिए। असोजमा भने यो संख्या बढेर ७३ हजार ७६५ पुगेको छ। अघिल्लो आर्थिक वर्षको साउनमा ६८ हजार ११०, भदौमा ६७ हजार ९७२ र असोजमा ६४ हजार ६३४ जनाले श्रम स्वीकृति लिएका थिए।

यसअघि आर्थिक वर्ष २०८१/८२ को पहिलो तीन महिनामा १ लाख ७० हजार ५९१ जनाले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएका थिए। पछिल्ला तीन आर्थिक वर्षको पहिलो त्रैमासिक तथ्यांकले वैदेशिक रोजगारीमा जाने तयारीमा रहेका नेपालीको संख्या समग्रमा बढ्दो क्रममा रहेको देखाउँछ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार