सर्लाही – सिरहाको गोलबजार नगरपालिकामा पशु हाटबजारको ठेक्का र राजस्व सङ्कलनमा अनियमितता गरेको आरोपमा तत्कालीन नगरप्रमुखसहित आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरूविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरेको हो।
आयोगका अनुसार आर्थिक वर्ष २०७७/७८ र २०७८/७९ मा पशु हाटबजार सञ्चालनका लागि ठेक्का लगाउने, राजस्व उठाउने तथा छुट दिने क्रममा अनियमितता भएको पाइएको छ। ठेक्का र राजस्व सङ्कलन प्रक्रियामा मिलेमतो गरी नगरपालिकाको सार्वजनिक सम्पत्तिमा हानिनोक्सानी पुर्याएको आरोप उनीहरूमाथि लगाइएको छ।

मुद्दा दायर गरिएकामा तत्कालीन नगरप्रमुख देवनाथ साह तेली, उपप्रमुख रेशमकुमारी थापा, निमित्त प्रमुख प्रशासकीय अधिकृत रामनारायण महतो तथा दिनेश कुमार सहनी, वीरन्द्रकुमार यादव, श्रीधर केसी र अनन्तकुमार पौड्यालसहित आठ जना रहेका छन्।
आयोगले प्रतिवादीहरूबाट कुल १ करोड ६० लाख ४६ हजार ३४४ रुपैयाँ १० पैसा बिगो असुलउपर गर्न माग गरेको छ। तत्कालीन नगरप्रमुख तेलीसहित केही प्रतिवादीलाई भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम थप सजाय गर्नसमेत आयोगले माग गरेको छ।
पशु हाटबजारको ठेक्का तथा राजस्व सङ्कलनसम्बन्धी निर्णय गर्दा कानुनी प्रक्रिया मिचेर छुट दिइएको र ठेकेदारबाट उठाउनुपर्ने रकम असुल नगरी नगरपालिकालाई आर्थिक क्षति पुर्याइएको आयोगको आरोप छ। सोही प्रकरणमा संलग्नताको अवस्था र निर्धारण गरिएको बिगोका आधारमा प्रतिवादीहरूविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरिएको आयोगले जनाएको छ।





