सर्लाही – प्रहरीले ६८ किलोभन्दा बढी चाँदीका गरगहनासहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुबाट खटिएको टोलीले भारतको बिहारस्थित रक्सौल निवासी १९ वर्षीय अमन सर्राफलाई चाँदीका गरगहनासहित नियन्त्रणमा लिएको हो।

कार्यालयका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक (एसपी) रामेश्वर कार्कीका अनुसार सर्राफको साथबाट ६८ किलो २४४.२४ ग्राम चाँदीका गरगहना बरामद गरिएको छ। उनलाई सोमबार काठमाडौंको चन्द्रागिरि नगरपालिका–७ बाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।
पक्राउ परेका सर्राफलाई थप अनुसन्धान तथा आवश्यक कानुनी प्रक्रिया अघि बढाउन मंगलबार त्रिभुवन विमानस्थल भन्सार कार्यालय, गौचर पठाइएको एसपी कार्कीले जानकारी दिएका छन्।





