धर्म परिवर्तनका लागि स्वास्थ्य शिविर सञ्चालन गर्ने १० विदेशी नागरिक पक्राउ

२०८३ कार्तिक ११, बुधवार २०:०२

सर्लाही – पर्यटक भिसामा आइ क्रिश्चियन मिशनका लागि स्वास्थ्य शिविर सञ्चालन गर्ने दश विदेशी नागरिक पक्राउ परेका छन्।

मोरङको कानेपोखरी गाउँपालिका–७, बरगाछीमा सञ्चालित शिविरमा संलग्न उनीहरूको राहदानी तथा कागजात जफत गरी अध्यागमन विभाग पठाइएको गृह मन्त्रालयले जनाएको छ।

‘मर्सी डेभलपमेन्ट’ नामक संस्थामार्फत सञ्चालित शिविरमा पर्यटक भिसामा आएका विदेशी चिकित्सकसहितका नागरिक सहभागी थिए। आवश्यक अनुमति नलिई स्वास्थ्य सेवा सञ्चालन गरिएको पाइएपछि विदेशी नागरिक अनुगमन जिल्ला समितिको निर्णयअनुसार उनीहरूका कागजात आवश्यक कारबाहीका लागि विभाग पठाइएको हो।

कात्तिक ८ गतेदेखि चार दिनसम्म सञ्चालन गर्ने गरी सुरु गरिएको शिविरको तयारी पास्टर पावेल दङ्गालले गरेको बताइएको छ। शिविरमा ब्राजिल, क्यानडा र अमेरिकाका नागरिक सहभागी रहेको खुलेको छ।

स्थानीयस्तरमा अस्पताल निर्माण गर्ने उद्देश्यले प्रयोग गरिने भनिएको उक्त जग्गामा यसअघि धार्मिक कक्षासमेत सञ्चालन हुँदै आएको थियो। स्थानीय किराना व्यवसायी नवराज श्रेष्ठले अस्पताल निर्माण गर्ने उद्देश्यसहित तीन कट्ठा जग्गामा छ वटा साना–ठूला भवन बनाएको बताइएको छ। तर, ती भवन धार्मिक गतिविधि तथा अन्य कार्यक्रमका लागि प्रयोग हुन थालेपछि विवाद उत्पन्न भएको थियो।

स्थानीयस्तरमा विवाद बढेपछि स्थानीयलाई खुसी पार्ने उद्देश्यले स्वास्थ्य शिविर आयोजना गरिएको बताइएको छ। हाल उक्त स्थानमा दुई जना पास्टर र केही सिलाइकटाइ प्रशिक्षक बस्दै आएको जनाइएको छ।

शिविरमा सहभागी १० विदेशी नागरिकमध्ये तीन जना ब्राजिल, दुई जना क्यानडा र पाँच जना अमेरिकी नागरिक रहेको पाइएको छ। उनीहरू सन् २०२६ अक्टोबर २२ र २३ मा नेपाल प्रवेश गरेको तथा उनीहरूको भिसाको म्याद नोभेम्बर ६ देखि २१ सम्म रहेको विवरणमा उल्लेख छ।

पर्यटक भिसामा नेपाल प्रवेश गरेका विदेशी नागरिकले आवश्यक कानुनी प्रक्रिया र अनुमति पूरा नगरी स्वास्थ्य शिविर सञ्चालन गरेको विषयमा सम्बन्धित निकायले अध्यागमनसम्बन्धी कारबाही अघि बढाएको हो।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार