सर्लाही – रौतहटमा ट्याक्टर र मोटरसाइकल एकआपसमा ठोक्किँदा एक प्रहरी जवानको मृत्यु भएको छ भने उनकी श्रीमती गम्भीर घाइते भएकी छन्।
बिहीबार साँझ करिब ६ः३० बजे फतुवा विजयपुर नगरपालिका–११ स्थित राङ्गी टोलमा दुधिअवा–बालचनपुर सडकखण्डमा दुर्घटना भएको हो।

जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार दुधिअवाबाट बालचनपुरतर्फ जाँदै गरेको ना २ त ४७८६ नम्बरको ट्याक्टर र विपरीत दिशाबाट आउँदै गरेको बागमती प्रदेश ०२–०५३ प ८२०२ नम्बरको मोटरसाइकल ठोक्किएका थिए।
दुर्घटनामा मोटरसाइकल चालक गुजरा नगरपालिका–४ पोखरभिन्डाका ३५ वर्षीय प्रहरी जवान सुभाष चौधरी र पछाडि सवार उनकी ३० वर्षीया श्रीमती निशा खड्का घाइते भएका थिए।
घाइते दुवैलाई उपचारका लागि एम्बुलेन्समार्फत वीरगन्जस्थित बयोधा अस्पताल पुर्याइएको थियो। उपचारकै क्रममा बिहीबार राति ८ः१० बजे चिकित्सकले सुभाषलाई मृत घोषणा गरेका थिए। उनकी श्रीमती निशाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।
मृतक चौधरी बारा जिल्लाको इलाका प्रहरी कार्यालय सिम्रौनगढमा कार्यरत रहेको खुलेको छ। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता एवं डीएसपी वसन्त गौतमले जानकारी दिएका छन्।





