सर्लाही – मधेश प्रदेशका मिर्गौलाका बिरामीलाई प्रदेशमै उपचार सेवा उपलब्ध गराउने उद्देश्यले सरकारले जनकपुरधाममा मिर्गौला उपचार केन्द्र स्थापना गर्ने प्रक्रिया अघि बढाएको छ।
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले जनकपुरधामस्थित मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानको परिसरमा केन्द्र निर्माण गर्ने तयारी थालेको हो। त्यसका लागि मन्त्रालयले शहरी विकास तथा भवन निर्माण विभागलाई पत्राचार गर्दै आवश्यक निर्माण प्रक्रिया अगाडि बढाउन अनुरोध गरेको छ।

मन्त्रालयको नीति, योजना तथा अनुसन्धान महाशाखाअन्तर्गत नीति, योजना तथा बजेट शाखाले विभागलाई पत्र पठाएर प्रतिष्ठान परिसरमा उपचार केन्द्र निर्माणसम्बन्धी प्रक्रिया अघि बढाउन आग्रह गरेको जनाएको छ।
चालु आर्थिक वर्ष २०८३/८४ को स्वीकृत बजेट तथा कार्यक्रमअन्तर्गत एकीकृत स्वास्थ्य पूर्वाधार विकास कार्यक्रमबाट केन्द्र निर्माणका लागि २५ लाख २० हजार रुपैयाँ विनियोजन गरिएको छ।
हाल मिर्गौलाका बिरामीले नियमित डायलाइसिस तथा अन्य उपचारका लागि काठमाडौंलगायतका ठूला सहर पुग्नुपर्ने बाध्यता छ। प्रदेशमै उपचार केन्द्र स्थापना भएपछि यस क्षेत्रका बिरामीलाई उपचार सेवामा सहज पहुँच पुग्ने अपेक्षा गरिएको छ।
तर, विनियोजित बजेटबाट निर्माणको कुन चरणसम्मको काम सम्पन्न हुने, डायलाइसिस मेसिनलगायत आवश्यक उपकरण कसरी व्यवस्थापन गर्ने र चिकित्सकीय जनशक्ति कहिले उपलब्ध गराउने भन्ने विषय अझै स्पष्ट भएको छैन।
भौतिक संरचना निर्माणसँगै आवश्यक उपकरण, दक्ष जनशक्ति र नियमित उपचार सेवाको व्यवस्था गर्न सके मात्रै प्रस्तावित केन्द्रबाट मिर्गौलाका बिरामीले वास्तविक लाभ लिन सक्नेछन्।





