मलंगवा – सर्लाही प्रहरीले विभिन्न आपराधिक मुद्दामा अदालतबाट सजाय तथा जरिवाना तोकिएपछि फरार रहेका चार जना प्रतिवादीलाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार प्रहरी कार्यालय तथा मातहतबाट खटिएको प्रहरी टोलीले खोजतलास गर्ने क्रममा उनीहरूलाई पक्राउ गरेको हो। पक्राउ पर्नेहरूमा ज्यानसम्बन्धी कसुरका दुई जना, ज्यान मार्ने उद्योगका एक जना तथा ठगी र अनुचित लेनदेनसम्बन्धी मुद्दाका एक जना रहेका छन्।

प्रहरीका अनुसार ज्यानसम्बन्धी कसुरमा दुई जनालाई एक लाख रुपैयाँ, ज्यान मार्ने उद्योगमा एक जनालाई ५० हजार रुपैयाँ र ठगी तथा अनुचित लेनदेनमा एक जनालाई दुई लाख ५० हजार रुपैयाँ जरिवाना तोकिएको थियो।
पक्राउ परेका चारै जनालाई अदालतले तोकेको कुल चार लाख रुपैयाँ जरिवानासहित आवश्यक कारबाहीका लागि सर्लाही जिल्ला अदालतमा दाखिला गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।




