सर्लाही – सिन्धुपाल्चोकमा भाइको कुटपिटबाट घाइते भएका दाइको मृत्यु भएको छ। घटनामा संलग्न मृतकका भाइलाई प्रहरीले नियन्त्रणमा लिएको छ। सिन्धुपाल्चोकको लिसंखुपाखर गाउँपालिका – ३ ग्यावा टोलमा सामान्य विवादका क्रममा भाइले कुटपिट गर्दा ६२ वर्षीय राना बहादुर तामाङ घाइते भएका थिए।
प्राप्त विवरणअनुसार गत कात्तिक ११ गते करिब ६० वर्षीय शम्बर बहादुर तामाङले आफ्नै दाइ राना बहादुरलाई कुटपिट गरेका थिए। कुटपिटबाट घाइते भएका उनलाई उपचारका लागि जिल्ला अस्पताल भक्तपुर लगिएको थियो।

त्यहाँबाट थप उपचारका लागि केएमसी अस्पताल दुवाकोट पठाइएका तामाङलाई कात्तिक १४ गते दिउँसो ३ बजेर ५ मिनेटमा चिकित्सकले मृत घोषणा गरेका थिए। घटनामा संलग्न शम्बर बहादुरलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।




