मलंगवा – वर्षौंदेखि समाधान हुन नसकेको भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधान गर्ने विषयमा सर्लाहीमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। आइतबार जिल्लाको बागमती नगरपालिका – ४ स्थित जिरायत बजारमा जिल्ला भूमि समस्या समाधान समिति सर्लाहीको आयोजनामा कार्यक्रम सम्पन्न भएको हो।
जिल्ला भूमि समस्या समाधान समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी विजयाराज सुवेदीको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रतिनिधिसभा सदस्य, जिल्लाका विभिन्न स्थानीय तहका प्रमुख तथा अध्यक्ष, सुरक्षा निकायका प्रमुखलगायत सरोकारवालाहरूको सहभागिता रहेको थियो।

कार्यक्रममा लामो समयदेखि जग्गाको स्वामित्व प्राप्त गर्न नसकेका भूमिहीन तथा सुकुम्बासी परिवारको समस्या समाधानका विषयमा छलफल गरिएको थियो। त्यस्तै, अव्यवस्थित बसोबासीको पहिचान, जग्गा नापजाँच, लालपुर्जा वितरण तथा यस प्रक्रियामा देखिएका कानुनी र व्यावहारिक जटिलताबारे सहभागीहरूले आ–आफ्ना धारणा राखेका थिए।
वर्षौंदेखि जग्गाको स्वामित्वको टुंगो नलाग्दा समस्या भोग्दै आएका परिवारलाई न्यायोचित ढंगले सम्बोधन गर्न सम्बन्धित निकायबीच समन्वय र सहकार्य आवश्यक रहेको विषयमा समेत छलफल भएको थियो।
कार्यक्रममा भूमिसम्बन्धी समस्या समाधानका लागि स्थानीय तह र जिल्ला स्तरका सरोकारवाला निकायबीच प्रभावकारी समन्वय गर्दै समस्या समाधानको प्रक्रिया अघि बढाउने विषयमा जोड दिइएको थियो।




