सर्लाही – रौतहटमा स्रोत नखुलेको १० लाख रुपैयाँसहित एक भारतीय नागरिक पक्राउ परेका छन् । जिल्लाको बौधीमाई नगरपालिका–७ बंकुलस्थित बंकुल–नरकटिया सडकखण्डबाट प्रहरीले उक्त रकमसहित भारतीय नागरिकलाई नियन्त्रणमा लिएको हो ।
प्रहरीका अनुसार सोमबार दिउँसो करिब १२ः२० बजे बाराबाट रौतहटतर्फ जाँदै गरेको भारतीय नम्बर प्लेटको बीआर ०५ एएफ ३७८७ मोटरसाइकललाई शङ्का लागेर जाँच गरिएको थियो ।

प्रहरी चौकी बंकुलबाट प्रहरी सहायक निरीक्षक रमेश यादवको कमाण्डमा खटिएको गस्ती टोलीले मोटरसाइकल जाँच गर्ने क्रममा फिल्टरभित्र लुकाइछिपाइ राखिएको १० लाख रुपैयाँ फेला पारेको थियो ।
बरामद रकममा एक हजार रुपैयाँ दरका ५९३ थान र पाँच सय रुपैयाँ दरका ८१४ थान नोट रहेका छन् । प्रहरीले रकमसँगै मोटरसाइकल र चालक भारतको बिहार राज्य, मोतिहारी जिल्ला, घोडसन ग्राम निवासी अन्दाजी ३३ वर्षीय टुना दासलाई नियन्त्रणमा लिएको छ ।
पक्राउ परेका दाससँग बरामद रकमको स्रोत तथा घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




