सर्लाही – अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले मध्यपुर थिमि नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भोजराज घिमिरेलाई नियन्त्रणमा लिएको छ। नगरपालिकाबाट निस्किएको विद्युतीय गाडीबाट ३३ लाख रुपैयाँ नगद बरामद भएपछि घिमिरेलाई कार्यालयबाटै नियन्त्रणमा लिइएको हो।
सोमबार अपराह्न नगरपालिकाबाट बाहिरिएको बागमती प्रदेश ०१–०३५ च २६८७ नम्बरको टाटा इभी कारलाई अख्तियारको विशेष टोलीले निकोसेरास्थित अजिमा पेट्रोल पम्पनजिक रोकेर जाँच गरेको थियो।

जाँचका क्रममा गाडीमा शंकास्पद रकम फेला परेपछि चालकसहित कारमा सवार भुवन ढुङ्गेल र उनकी श्रीमतीलाई अख्तियारले नियन्त्रणमा लिएको थियो।
ढुङ्गेल प्रमुख प्रशासकीय अधिकृत घिमिरेका भाइ नाता पर्ने व्यक्ति रहेको बताइएको छ। अख्तियारका अनुसार गाडीबाट ३३ लाख रुपैयाँ नगद बरामद भएको छ। उक्त रकम घिमिरेले घुसबापत प्राप्त गरी व्यवस्थापनका लागि ढुङ्गेललाई दिएको आयोगको दाबी छ।
घिमिरेले भने आफूमाथि लागेको घुस लिएको आरोप अस्वीकार गरेका छन्। उनलाई नगरपालिकाको कार्यालयबाट नियन्त्रणमा लिएर घटनास्थलमा पुर्याइएको थियो। घटनाबारे हाल मुचुल्का तयार पार्ने काम भइरहेको छ। यस विषयमा अख्तियारको थप अनुसन्धान तथा आधिकारिक विवरण आउन बाँकी छ।




