सर्लाही – बाराको जितपुरसिमरा उपमहानगरपालिका–१६ धर्मनगरमा बाँदर धपाउने क्रममा भरुवा बन्दुक पड्किँदा निस्किएको छर्रा लागेर एक स्थानीय घाइते भएका छन्। घटनामा संलग्न रहेको आरोपमा प्रहरीले दुई नाल भरुवा बन्दुकसहित एक जनालाई पक्राउ गरेको छ।
सोमबार साँझ करिब ६ः३५ बजे धर्मनगरका ३० वर्षीय गोविन्द ठाडा मगरले बाँदर धपाउन भरुवा बन्दुक पड्काउँदा निस्किएको छर्रा लागेर स्थानीय ३२/३३ वर्षीय उत्तम रमौली मगर घाइते भएका हुन्।

छर्रा लागेर घाइते भएका रमौली मगरलाई उपचारका लागि वीरगन्जस्थित नेपाल मेडिसिटी बयोधा अस्पताल, गण्डकमा भर्ना गरिएको छ। उनको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
घटनाबारे साँझ ६ः५० बजे जिल्ला प्रहरी कार्यालय बारामा सूचना प्राप्त भएपछि प्रहरी टोली घटनास्थल पुगेको थियो। डीएसपी मीनबहादुर घलेको नेतृत्वमा सात जना, अस्थायी प्रहरी पोस्ट डुमरवानाबाट असई सञ्जयकुमार वर्माको नेतृत्वमा दुई जना र इलाका प्रहरी कार्यालय सिमराबाट डीएसपी दयाकृष्ण भट्टको नेतृत्वमा २२ जनाको टोली परिचालन गरिएको थियो।
प्रहरीले घटनामा प्रयोग भएको भनिएका दुई नाल भरुवा बन्दुक बरामद गर्नुका साथै गोविन्द ठाडा मगरलाई नियन्त्रणमा लिएको छ। पक्राउ परेका उनलाई इलाका प्रहरी कार्यालय सिमरामा राखिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।




