सर्लाही – भारतको उत्तर प्रदेशस्थित झाँसीमा जिउँदो मुसालाई आगो लगाएर जलाएको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ। घटनाको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरीले अनुसन्धान अघि बढाउँदै उनीहरूलाई नियन्त्रणमा लिएको हो।
दैनिक भास्करका अनुसार घटना झाँसीको सहर कोतवाली क्षेत्रअन्तर्गत ओरछा गेटमा भएको हो। सामाजिक सञ्जालमा भाइरल भएको करिब ४७ सेकेन्डको भिडियोमा केही युवकले मुसालाई समातेर त्यसको पुच्छर बाँधेको र ज्वलनशील पदार्थ छर्केर आगो लगाएको देखिन्छ।

उक्त भिडियो सार्वजनिक भएपछि सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले घटनाप्रति आक्रोश व्यक्त गर्दै संलग्न व्यक्तिहरूमाथि कारबाहीको माग गरेका थिए। भिडियो र सर्वसाधारणको गुनासोलाई ध्यानमा राख्दै प्रहरीका उच्च अधिकारीहरूले तत्काल अनुसन्धान गर्न निर्देशन दिएका थिए।
प्रहरीले भिडियोका आधारमा संलग्न व्यक्तिहरूको पहिचान गरी जुनैद कुरैशी, जीशान कुरैशी, आसिफ कुरैशी र शफीकलाई पक्राउ गरेको जनाएको छ। उनीहरूविरुद्ध भारतीय न्याय संहिताको धारा ३२५ अन्तर्गत पशुपक्षीमाथि क्रूरता गरेको अभियोगमा मुद्दा दर्ता गरिएको छ।
प्रहरी अधिकारी प्रिया सिंहका अनुसार सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडियोका आधारमा सहर कोतवालीमा तत्काल प्राथमिकी दर्ता गरी अनुसन्धान सुरु गरिएको थियो। अनुसन्धानका क्रममा घटना ओरछा गेट क्षेत्रमा भएको पुष्टि भएपछि चारै जना आरोपीलाई पहिचान गरी पक्राउ गरिएको हो।




