नेकपा सह-संयोजक माधव नेपालको थाप्लोमा थपियो अर्को भ्रष्टाचार मुद्दा

२०८३ कार्तिक १७, मंगलवार १४:१२
file image

सर्लाही – नेपाली कम्युनिस्ट पार्टीका सह–संयोजक तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालविरुद्ध भ्रष्टाचारसम्बन्धी अर्को मुद्दा दर्ता भएको छ।

सरकारी जग्गा बिक्रीका लागि मन्त्रिपरिषद्बाट निर्णय गराएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपालसहित नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री डा. मिनेन्द्र रिजालविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो।

सुनसरीको इटहरीस्थित रिजाल टासी इन्डस्ट्रिजको नाममा रहेको हदबन्दीभन्दा बढी जग्गा सट्टापट्टाका नाममा बिक्री गरिएको प्रकरणमा अख्तियारले मंगलबार मुद्दा दर्ता प्रक्रिया अघि बढाएको हो।

उक्त प्रकरणमा तत्कालीन प्रधानमन्त्री नेपाल र विभागीय मन्त्री रिजालसहित भूमिसुधार तथा मालपोत कार्यालयका कर्मचारीलाई पनि प्रतिवादी बनाइएको छ। अख्तियारका अनुसार सुनसरी र मोरङको औद्योगिक करिडोर क्षेत्रमा रहेको उद्योगको जग्गा बिक्री गर्न तत्कालीन मन्त्रिपरिषद्ले नै सहमति दिएको थियो।

राजमार्गसँग जोडिएको तथा महँगो मूल्य पर्ने ५९ बिघा जग्गा बिक्री गरी अन्य स्थानको जग्गासँग सट्टापट्टा गर्ने निर्णय २०६६ सालमा नेपाल प्रधानमन्त्री रहेका बेला भएको थियो। उक्त जग्गा कारोबारमा मन्त्रिपरिषद्को प्रत्यक्ष संलग्नता देखिएपछि तत्कालीन प्रधानमन्त्री नेपालविरुद्ध पनि भ्रष्टाचार मुद्दा अघि बढाइएको अख्तियारले जनाएको छ।

यसअघि काभ्रेको साँगास्थित पतञ्जलि योगपीठका नाममा सरकारी जग्गा उपलब्ध गराउने र बिक्री गर्ने प्रकरणमा पनि नेपालविरुद्ध भ्रष्टाचार मुद्दा दायर भइसकेको छ। नयाँ मुद्दा दर्तासँगै उनीविरुद्ध भ्रष्टाचारसम्बन्धी दुई फरक प्रकरणमा कानुनी प्रक्रिया अघि बढेको छ।

अख्तियारका प्रवक्ता सुरेश न्यौपानेले मुद्दा विशेष अदालतमा दर्ता भएपछि विस्तृत विवरण सार्वजनिक हुने जानकारी दिएका छन्। विशेष अदालतका अधिकारीहरूले पनि अख्तियारबाट फाइल प्राप्त भएको र दर्ता प्रक्रिया अघि बढिरहेको बताएका छन्।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार