सयपत्री फूलको व्यावसायिक खेती फस्टाउँदै, वार्षिक करोडौँको कारोबार

२०८३ कार्तिक १७, मंगलवार १६:००

सर्लाही – सिराहा जिल्लामा सयपत्री फूलको व्यावसायिक खेती विस्तार हुँदै गएको छ। विवाह, चाडपर्व, धार्मिक कार्य तथा विभिन्न सांस्कृतिक समारोहमा फूलको प्रयोग बढेसँगै स्थानीय किसान यस खेतीप्रति आकर्षित हुन थालेका हुन्। विशेषगरी तिहार र छठ पर्वलाई लक्षित गरी जिल्लाका विभिन्न स्थानमा सयपत्री फूलको खेती गर्ने क्रम बढेको छ।

लहान, धनगढीमाई, गोलबजार र मिर्चैया नगरपालिकामा यसको व्यावसायिक खेती भइरहेको नर्सरी व्यवसायी सङ्घ सिराहाका अध्यक्ष सुरेश महतोले जानकारी दिनुभयो। उहाँका अनुसार जिल्लामा करिब तीन दर्जन नर्सरी व्यवसायी सयपत्री फूल उत्पादनमा संलग्न छन्। उनीहरूको उत्पादनबाट वार्षिक एक करोड रुपैयाँभन्दा बढीको कारोबार हुने गरेको छ।

बजारको सहज उपलब्धता र तुलनात्मक रूपमा कम लगानीमा राम्रो आम्दानी गर्न सकिने भएकाले यो खेतीप्रति किसानको रुचि बढेको महतोको भनाइ छ। सिराहामा नर्सरी व्यवसायको सुरुवात गर्ने व्यक्तिका रूपमा धनगढीमाई नगरपालिका–१०, जिरोमाइलस्थित श्रीदेव नर्सरीका संस्थापक स्वर्गीय श्रीदेव चौधरीलाई लिइन्छ।

उहाँले सुरु गरेको व्यवसाय अहिले जिल्लाका अन्य स्थानमा समेत फैलिएको उहाँका भतिजा तथा कपिलदेव नर्सरीका सञ्चालक रामकुमार चौधरीले बताउनुभयो। उहाँका अनुसार जिल्लामा हाल करिब २० बिघा जमिनमा सयपत्री फूलको खेती भइरहेको छ। एक कठ्ठामा करिब १० हजार रुपैयाँ लगानी गर्दा ४० हजार रुपैयाँसम्म आम्दानी गर्न सकिने उहाँको अनुभव छ।

थोरै जमिन भएका किसानले समेत तरकारी खेतीसँगै केही कठ्ठामा फूल लगाएर अतिरिक्त आम्दानी गर्न थालेका छन्। यस वर्ष तिहारका लागि फूल बजारमा पुर्‍याउने तयारी भइरहेका बेला अर्नभ चक्रवातका कारण परेको वर्षाले खेतीमा क्षति पुर्‍याएको छ। वर्षासँगै आएको हावाहुरीले खेतमा लगाइएका सयपत्रीका बोट ढल्दा उत्पादन प्रभावित भएको श्रीदेव नर्सरीकी सञ्चालिका पुनमकुमारी चौधरी बछारले बताउनुभयो।

उहाँका अनुसार ससुराको पालादेखि फलफूलको नर्सरी सञ्चालन हुँदै आएकोमा उहाँको निधनपछि व्यवसायलाई विस्तार गर्दै सयपत्री फूल र ड्रागन फ्रुटको खेतीसमेत सुरु गरिएको हो। खेती विस्तारसँगै किसानलाई आवश्यक प्राविधिक ज्ञान र सहयोग उपलब्ध गराउनुपर्नेमा नर्सरी व्यवसायीले जोड दिएका छन्।

नर्सरी व्यवसायी रामपरीक्षण महतोले स्थानीय तहका कृषि शाखाले माटो परीक्षण, किसानलाई तालिम तथा प्राविधिक परामर्शको व्यवस्था गर्नुपर्ने बताउनुभयो। पालिकाहरूले नर्सरी, फलफूल र फूल खेती प्रवर्द्धनका लागि स्पष्ट नीति तथा कार्यक्रम ल्याउन सके स्थानीयस्तरमै रोजगारी र आम्दानीका अवसर बढ्ने उहाँको भनाइ छ।

सिराहाका नर्सरी व्यवसायले कृषि क्षेत्रमा रोजगारी सिर्जना गर्नसमेत योगदान पुर्‍याएका छन्। व्यवसायीका अनुसार जिल्लाका नर्सरीमा दुई सयभन्दा बढी कृषि मजदुरले वर्षभरि काम पाउँदै आएका छन्। यहाँ उत्पादित फलफूल काठमाडौँ, जनकपुर, पोखरा र राजविराजलगायतका बजारमा बिक्रीका लागि पठाइन्छ।

स्थानीय उत्पादन बढ्दै गएपछि सयपत्री फूलका लागि भारतीय बजारमाथिको निर्भरता पनि हटेको व्यवसायीको दाबी छ। स्वदेशमै उत्पादन पर्याप्त हुन थालेसँगै भारतबाट फूल आयात गर्नुपर्ने अवस्था अन्त्य भएको उनीहरूको भनाइ छ। – गोरखापत्र

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार