राजस्व छली ल्याइएको चाँदीसहित वीरगन्जबाट दुई जना पक्राउ

२०८३ कार्तिक १७, मंगलवार १९:०९

सर्लाही – भारतबाट भन्सार छली नेपाल भित्र्याइएको चाँदीसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा पर्साको वीरगन्ज महानगरपालिका–१६ नगवाका ३६ वर्षीय रामप्रकाश सर्राफ र बाराको गढीमाई गाउँपालिका–५ घर भई हाल वीरगन्ज–१६ मा बस्दै आएका ३९ वर्षीय कृष्ण सहनी रहेका छन्।

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार दुवै जनालाई मंगलबार बिहान वीरगन्ज महानगरपालिका–२५ सिर्सियाबाट पक्राउ गरिएको हो। भारतबाट नेपालतर्फ आउँदै गरेको बीआर ०५ बीके ४४१७ नम्बरको भारतीय मोटरसाइकल रोकेर जाँच गर्ने क्रममा उनीहरूको साथबाट २७.७० तोला चाँदी बरामद भएको प्रहरीले जनाएको छ।

इलाका प्रहरी कार्यालय छपकैयाबाट प्रहरी सहायक निरीक्षक भोगेन्द्र खत्रीको नेतृत्वमा खटिएको टोलीले मोटरसाइकल जाँच गरेको थियो। बरामद चाँदीसहित पक्राउ परेका दुवै जनालाई प्रहरी हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले जानकारी दिएका छन्।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार