रौतहटमा गोली प्रहारबाट एक जना गम्भीर घाइते

२०८३ कार्तिक १८, बुधवार ०८:२५

सर्लाही – रौतहटको गौर नगरपालिका–४ गढवा टोलमा गोली प्रहार हुँदा एक युवक गम्भीर घाइते भएका छन्।

बुधबार राति करिब सवा ९ बजे गढवा टोलस्थित पानी ट्यांकी नजिकै स्थानीय २८ वर्षीय राकेश यादवमाथि गोली प्रहार भएको हो। पेस्तोलबाट प्रहार गरिएका गोलीका छर्रा लागेर यादवको शरीरका विभिन्न भागमा चोट लागेको छ।

घाइते यादवलाई तत्काल उपचारका लागि प्रादेशिक अस्पताल गौर लगिएको थियो। त्यहाँ सामान्य उपचारपछि थप उपचारका लागि वीरगञ्जस्थित नेपाल मेडिसिटी बयोधा अस्पताल रेफर गरिएको छ। उनको अवस्था गम्भीर रहेको बताइएको छ।

यादवको ढाडमा तीन, दाहिने पाखुरामा एक तथा दुवै खुट्टामा दुई गरी जम्मा ६ वटा गोलीका छर्रा लागेको छ। घटनास्थलमा ७.६२ एमएम पेस्तोलका तीनवटा खाली खोका समेत फेला परेको प्रहरीले जनाएको छ।

घटनामा संलग्न व्यक्तिको पहिचान तथा गोली प्रहार गर्नुको कारण खुल्न सकेको छैन। घटनाबारे जिल्ला प्रहरी कार्यालय रौतहटले थप अनुसन्धान गरिरहेको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार