मलंगवा – सर्लाहीको भूमि प्रशासन कार्यालय (मालपोत) मा कार्यरत एक नायब सुब्बा एक लाख रुपैयाँ घुस रकमसहित पक्राउ परेका छन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबासबाट खटिएको टोलीले बुधबार बिहान करिब १० बजे मालपोत कार्यालयको प्रशासन फाँटमा कार्यरत निर्मल तिमिल्सिनालाई नियन्त्रणमा लिएको हो।

आयोगका अनुसार तिमिल्सिनाले मोहीसम्बन्धी जग्गाको काम गरिदिने भन्दै एक सेवाग्राहीसँग एक लाख रुपैयाँ घुस लिएका थिए। घुस रकम लिएको सूचनाका आधारमा पुगेको अख्तियारको टोलीले उनलाई कार्यालयबाटै पक्राउ गरेको जनाइएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबासले घटनाको पुष्टि गर्दै पक्राउ परेका तिमिल्सिनामाथि थप अनुसन्धान भइरहेको जनाएको छ।




