मलंगवा – सर्लाहीमा भारतबाट भन्सार छली नेपाल भित्र्याइँदै गरेका कृषि सामग्रीसहित करिब ५ लाख रुपैयाँभन्दा बढी मूल्यका सामान बरामद गरिएको छ।
बुधबार विशेष सूचनाका आधारमा सशस्त्र प्रहरी बल, नेपाल नं. १० गण हेडक्वार्टर सर्लाही तथा मातहतका युनिटबाट खटिएको टोलीले अवैध रूपमा भित्र्याइँदै गरेका २०० केजी मकैको बीउ र ५ बोरा युरिया मल बरामद गरेको हो।

सामान ढुवानीमा प्रयोग गरिएको एउटा अटोसहित बरामद सामग्रीको कुल मूल्य ५ लाख १५ हजार रुपैयाँ बराबर रहेको सशस्त्र प्रहरीले जनाएको छ। बरामद सामान तथा अटो आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा बुझाउने प्रक्रियामा रहेको जनाइएको छ।




