मोटरसाइकलको ट्याङ्कीमा लुकाएर ल्याइएको ४४ लाख भन्दा बढी रुपैयाँसहित दुई जना पक्राउ

२०८३ कार्तिक १८, बुधवार २०:४६

सर्लाही – रौतहटमा स्रोत नखुलेको ४४ लाख ६४ हजार ६०५ रुपैयाँ नगदसहित एक भारतीय नागरिक र एक स्थानीय व्यवसायी पक्राउ परेका छन्। प्रहरीले मोटरसाइकलको ट्याङ्कीमा गोप्य ठाउँ बनाएर लुकाइएको ३० लाख रुपैयाँ र गौरस्थित एक पसलबाट थप १४ लाख ६४ हजार ६०५ रुपैयाँ बरामद गरेको हो।

जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार कात्तिक १८ गते दिउँसो ईशनाथ नगरपालिका–४ स्थित महुलिया काली मन्दिर नजिकै भारतबाट नेपालतर्फ आउँदै गरेको भारतीय नम्बर प्लेटको मोटरसाइकललाई प्रहरी चौकी मठिया महुलियाको टोलीले रोकेर जाँच गरेको थियो।

प्रहरी सहायक निरीक्षक बिन्दा महतोको नेतृत्वमा खटिएको टोलीले म.प्र. ०५–००१ प ०५७८ नम्बरको मोटरसाइकल जाँच गर्दा चालकले बोकेको झोला र मोटरसाइकलको ट्याङ्कीमुनि लुकाइएको अवस्थामा स्रोत नखुलेको ३० लाख रुपैयाँ नेपाली नगद तथा एक थान स्मार्टफोन फेला पारेको थियो।

त्यसपछि प्रहरीले मोटरसाइकल चालक भारतको बिहारस्थित पूर्वी चम्पारण जिल्ला, फुलबरिया ग्राम वडा नम्बर १३ निवासी ३० वर्षीय सनि कुमार जैसवाललाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय पुर्‍याएको थियो।

प्रहरीका अनुसार प्रारम्भिक सोधपुछका क्रममा जैसवालले उक्त रकम गौर नगरपालिका–१ स्थित न्यू तराई ट्रेडर्सका सञ्चालक ५१ वर्षीय शेख कमरुललाई बुझाउन ल्याएको बताएका थिए।

उनको बयानका आधारमा प्रहरी निरीक्षक जीवनकुमार मैनालीको नेतृत्वमा खटिएको टोलीले उक्त पसलमा खानतलासी गरेको थियो। खानतलासीका क्रममा पसलबाट स्रोत नखुलेको थप १४ लाख ६४ हजार ६०५ रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ।

नगद बरामद भएपछि प्रहरीले पसल सञ्चालक शेख कमरुललाई समेत नियन्त्रणमा लिएको छ। दुवै स्थानबाट गरी कुल ४४ लाख ६४ हजार ६०५ रुपैयाँ बरामद भएको र पक्राउ परेका दुवै जनालाई हिरासतमा राखेर थप अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार