हुलाकी राजमार्गमा अतिक्रमण हटाउन थालियो, कमला पुल मङ्सिरदेखि सञ्चालन गर्ने तयारी

२०८३ कार्तिक १९, बिहिवार ११:५८
file image

सर्लाही – तराई–मधेसको महत्वपूर्ण सडक सञ्जालका रूपमा रहेको हुलाकी राजमार्गलाई व्यवस्थित र पूर्ण रूपमा सञ्चालनयोग्य बनाउने उद्देश्यले धनुषामा सडक सीमाभित्र निर्माण गरिएका अनधिकृत संरचना हटाउन थालिएको छ।

जनकपुरधामको कदमचोकदेखि कमला नदीको पुलसम्मको सडकखण्डमा पर्ने घर, टहरा तथा घुम्ती पसल हटाउने अभियान हुलाकी राजमार्ग निर्देशनालय, योजना कार्यालय जनकपुरधामले अघि बढाएको हो। पटकपटक सूचना जारी गर्दा पनि सम्बन्धित व्यक्तिले आफैँ संरचना नहटाएपछि कार्यालयले हटाउने प्रक्रिया सुरु गरेको कार्यालय प्रमुख कृष्णकुमार महतोले जानकारी दिए।

सडक सीमाभित्रका संरचनाका कारण निर्माण तथा विस्तारको काम प्रभावित हुँदै आएको छ। कतिपय स्थानमा सडक सीमा खाली नभएकै कारण निर्माण सुरु हुन नसकेको बताउँदै महतोले आवश्यक परे बल प्रयोग गरेर भए पनि अतिक्रमित संरचना हटाइने स्पष्ट पारे।

यसैबीच, धनुषा र सिरहालाई जोड्ने कमला नदीमाथिको पुल निर्माण अन्तिम चरणमा पुगेको छ। अधिकांश सडकखण्ड कालोपत्र भइसकेको र पुलसमेत आगामी मङ्सिरदेखि सञ्चालनमा ल्याउने तयारी भइरहेको कार्यालयले जनाएको छ।

पुल सञ्चालनमा आएपछि उक्त क्षेत्रमा सवारीसाधनको आवागमन बढ्ने भएकाले सडकलाई व्यवस्थित बनाउन अतिक्रमण हटाउने कामलाई तीव्रता दिइएको महतोको भनाइ छ। मङ्सिरको पहिलो साता प्रधानमन्त्री वालेन्द्र साहबाट समेत उक्त सडकखण्डको निरीक्षण हुन सक्ने तयारी भइरहेको उनले जानकारी दिए।

कमला पुल निर्माणको ठेक्का विसं २०६८ मा पप्पु–लुम्बिनी जेभीले पाएको थियो। निर्माण सम्पन्न गरी विसं २०७८ असारमा उद्घाटन गर्ने तयारी भइरहेका बेला आएको बाढीले पुलका पिलर भाँचिएपछि काम रोकिएको थियो। पुल क्षतिग्रस्त भएपछि वर्षौँसम्म स्थानीयवासीले नदी वारपार गर्न डुङ्गाको सहारा लिनुपरेको थियो।

पुनर्निर्माणका क्रममा देखिएका प्राविधिक तथा अन्य समस्या समाधान गर्दै काम अघि बढाइएको कार्यालय प्रमुख महतोले बताए। उनका अनुसार पुलको १० नम्बर पिलर निर्माण सम्पन्न भइसकेको छ भने सुपर स्ट्रक्चरको ढलान भइरहेको छ। फाउन्डेसनसहित तीनवटा पिलरको सवलीकरण र सुपर स्ट्रक्चरको स्ल्याब ढलान पनि अन्तिम चरणमा पुगेको छ।

पुलको दुवैतर्फ जोडिने सडकमा माटो भर्ने काम सम्पन्न भइसकेकाले मङ्सिरदेखि नै सवारीसाधन सञ्चालन गर्ने लक्ष्यसहित निर्माणलाई तीव्रता दिइएको कार्यालयले जनाएको छ। हुलाकी राजमार्गअन्तर्गत सिरहादेखि सर्लाहीसम्मको कुल ४०६ दशमलव ४३ किलोमिटर सडकमा हालसम्म ३४७ दशमलव ६३ किलोमिटर कालोपत्र भइसकेको छ। यस सडकखण्डमा निर्माण गर्नुपर्ने २४ वटा पुलसमेत सम्पन्न भइसकेका छन्।

हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय जनकपुरधामका सूचना अधिकारी रञ्जितकुमार रायका अनुसार जिल्लागत रूपमा सडक निर्माणको प्रगति फरक–फरक छ।

सिरहामा कुल ५७ दशमलव ५२ किलोमिटर सडकमध्ये २९ दशमलव ९८ किलोमिटर निर्माण सम्पन्न भएको छ भने २७ दशमलव ४६ किलोमिटर निर्माणाधीन छ। धनुषामा ८९ दशमलव ५२ किलोमिटरमध्ये ७४ दशमलव ५८ किलोमिटर सम्पन्न हुँदा १४ दशमलव ९४ किलोमिटर निर्माण हुन बाँकी छ।

त्यस्तै, महोत्तरीमा ९३ दशमलव पाँच किलोमिटरमध्ये ९१ दशमलव ५६ किलोमिटर सडक निर्माण सम्पन्न भएको छ भने एक दशमलव ९४ किलोमिटर बाँकी छ। सर्लाहीमा कुल १६६ दशमलव दुई किलोमिटरमध्ये १५१ दशमलव ५१ किलोमिटर निर्माण सम्पन्न भएको र १४ दशमलव ५१ किलोमिटर निर्माणाधीन अवस्थामा रहेको रायले जानकारी दिए।

आर्थिक वर्ष २०८२/८३ भित्रै हुलाकी सडक निर्माण सम्पन्न गर्ने लक्ष्य राखिए पनि सडक सीमाभित्रका घरटहरा हटाउन भएको ढिलाइ र विभिन्न स्थानमा जग्गासम्बन्धी विवादका कारण काम प्रभावित भइरहेको कार्यालय प्रमुख महतोले बताए। बाँकी निर्माणकार्य निर्धारित समयमै पूरा गर्न प्रयास भइरहेको उनको भनाइ छ।

हुलाकी राजमार्ग निर्माणले ग्रामीण क्षेत्रको आर्थिक तथा सामाजिक गतिविधिमा समेत परिवर्तन ल्याउन थालेको स्थानीय जनप्रतिनिधि र व्यवसायीले बताएका छन्। सडक विस्तारपछि गाउँबाट बजारसम्मको आवागमन सहज हुनुका साथै कृषि उपजको बिक्रीवितरण, व्यापार व्यवसाय र जग्गाको मूल्यमा समेत प्रभाव परेको उनीहरूको अनुभव छ।

सिरहाको बरियारपट्टी गाउँपालिकाका अध्यक्ष सन्तोष मेहताले हुलाकी सडकको स्तरोन्नतिले जिल्लाका आधा दर्जन स्थानीय तहको विकासमा योगदान पुर्‍याएको बताए। सडक सञ्जाल विस्तार भएपछि स्थानीयवासीलाई आवतजावत र दैनिक कामकाजमा सहज भएको उनको भनाइ छ।

धनुषाको औरही गाउँपालिकाका अध्यक्ष उमाशङ्कर प्रसाद साहका अनुसार सडक निर्माणसँगै राजमार्ग आसपासका जग्गाको मूल्य उल्लेख्य रूपमा बढेको छ। उनका अनुसार पहिले प्रतिकठ्ठा करिब २० लाख रुपैयाँमा बिक्री हुन कठिन हुने जग्गा अहिले ६० देखि ७० लाख रुपैयाँसम्ममा कारोबार हुन थालेको छ। “सडक पूर्ण रूपमा सञ्चालनमा आएपछि जग्गाको मूल्य अझ बढ्ने अपेक्षा गरेका छौँ”, उनले भने।

त्यस्तै, धनुषाको विदेह नगरपालिकाका व्यापारी अशोक साहले सडकको अवस्था सुधार भएपछि गाउँ र बजारबीचको सम्बन्ध थप सहज बनेको बताए। पहिले जीर्ण सडकका कारण गाउँबाट बजारसम्म आउन कठिनाइ हुने गरेको भए पनि अहिले स्थानीयवासी सहज रूपमा बजार पुगेर किनमेल गर्न थालेको उनको भनाइ छ। “गाउँका उपभोक्ता बजारसम्म सहजै आउन थालेपछि व्यापार व्यवसाय पनि बढेको छ”, उनले भने।

हुलाकी राजमार्गले ग्रामीण बस्तीलाई राष्ट्रिय सडक सञ्जालसँग जोड्नुका साथै कृषि, पर्यटन, व्यापार र उद्योग व्यवसायको विस्तारमा सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ। सडक निर्माणले स्थानीयस्तरमा रोजगारीका अवसर सिर्जना गर्नुका साथै मधेस प्रदेशको समग्र आर्थिक गतिविधिलाई गति दिने विश्वास गरिएको छ।

नेपालले गरेको रेखाङ्कनअनुसार पूर्वदेखि पश्चिमसम्म फैलिएको हुलाकी राजमार्गको कुल लम्बाइ एक हजार ७९२ किलोमिटर रहेको छ। मधेस प्रदेशका आठवटै जिल्लामा सडक तथा पुल निर्माणको काम अघि बढेसँगै यसअघि यातायातको पहुँचबाट टाढा रहेका ग्रामीण क्षेत्र क्रमशः सडक सञ्जालमा जोडिँदै गएका छन्।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार