मलंगवा – सर्लाहीको हरिपूर्वा नगरपालिकामा झाडीमा फालिएको अवस्थामा एक नवजात शिशु (छोरी) फेला परेकी छन्। जन्मिएको केही समयमै शिशुलाई बेवारिसे अवस्थामा छाडिएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार गत मंगलबार ( कात्तिक १७ गते ) दिउँसो करिब २ बजेर २० मिनेटमा हरिपूर्वा नगरपालिका – ४ साहापुरस्थित स्कुलटोलबाट करिब २० मिटर पूर्वतर्फको झाडीमा नवजात शिशु फेला परेकी थिइन्।

सूचना प्राप्त हुनासाथ सुक्नाहा प्रहरी चौकीबाट खटिएको प्रहरी टोलीले स्थानीयको सहयोगमा शिशुलाई उद्धार गरी धनकौल स्वास्थ्य चौकी पुर्याएको थियो। त्यहाँ प्रारम्भिक उपचारपछि थप उपचारका लागि सोही दिन साँझ प्रादेशिक अस्पताल मलंगवा लगिएको थियो।
तर, प्रादेशिक अस्पताल मलंगवामा नवजात शिशुको उपचारका लागि आवश्यक एनआईसीयू सेवा उपलब्ध नभएपछि आज ( बिहिबार ) दिउँसो थप उपचारका लागि वीरगन्जस्थित नारायणी अस्पताल पठाइएको प्रहरीले जनाएको छ।
यसैबीच, नवजात शिशुलाई कसले र किन झाडीमा छाडेको भन्ने विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ।




