सांसद गणेश धिमालको सहयोगमा बाराको जमुनियास्थित विद्यालयका विद्यार्थीलाई जुत्ता वितरण

२०८३ कार्तिक १९, बिहिवार २०:४२

बारा – बारा क्षेत्र नम्बर–१ का प्रतिनिधिसभा सदस्य माननीय गणेश धिमालको सहयोगमा आदर्श कोतवाल गाउँपालिका – १, जमुनियास्थित श्री नेरा आधारभूत विद्यालयका विद्यार्थीहरूलाई जुत्ता वितरण गरिएको छ।

सांसद गणेश धिमालले आफ्नो तलब भत्ताको पहिलो रकमबाट उपलब्ध गराएको सहयोगमार्फत विद्यालयका विद्यार्थीहरूलाई जुत्ता वितरण गरिएको हो। विद्यालय परिसरमा आयोजित कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टीबाट गाउँपालिका अध्यक्ष पदका प्रत्यासी सदाम अंसारी प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो।

कार्यक्रमको अध्यक्षता विद्यालय व्यवस्थापन समिति अध्यक्ष नूर आलम बादशाहले गर्नुभएको थियो। कार्यक्रममा वडा अध्यक्ष सुनील प्रसाद कुशवाहा, विद्यालयका प्रधानाध्यापक सुरेश पण्डित, विद्यालय व्यवस्थापन समिति सदस्य सरफुदीन आलम, महिला सदस्य पार्बती महतो, शिक्षकहरू मणिलाल कर्ण र नवल किशोर साह विशिष्ट अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो।

त्यसैगरी, राष्ट्रिय स्वतन्त्र पार्टी आदर्श कोतवाल कमिटीका सभापति सहजाद अंसारी, वडा नम्बर–१ का सभापति गजेन्द्र कुशवाहा, वडा नम्बर–३ का सभापति कमलेश कुमार यादव, वडा नम्बर–५ का सभापति अरुण यादव, वडा नम्बर – ६ का सभापति लालबहादुर साहलगायत रुपेन्द्र कुशवाहा, यश कुशवाहा, फिरोज खान, शेख जियाउल, शेख मोजाहिर, नबी आलम र शेख आजमको उपस्थिति रहेको थियो।

कार्यक्रममा विद्यार्थी तथा अभिभावकहरूको समेत उल्लेख्य सहभागिता रहेको थियो। विद्यार्थीहरूको शैक्षिक वातावरण सुधार गर्न तथा आर्थिक रूपमा कमजोर परिवारका बालबालिकालाई सहयोग पुर्‍याउने उद्देश्यले गरिएको यस सहयोगप्रति विद्यालय परिवारले सांसद गणेश धिमाललाई धन्यवाद व्यक्त गरेको छ।

विद्यार्थीहरूको आधारभूत आवश्यकतालाई ध्यानमा राखेर गरिएको यस्तो सहयोगले बालबालिकाको अध्ययनप्रति उत्साह बढाउनुका साथै समाजमा शिक्षा र सामाजिक उत्तरदायित्वप्रतिको सकारात्मक सन्देश प्रवाह गर्ने विश्वास व्यक्त गरिएको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार