तिहार पर्व सुरु, मिथिलाञ्चलमा आज धनतेरस मनाइँदै

२०८३ कार्तिक २०, शुक्रवार ०७:१९

सर्लाही – नेपालीको दोस्रो ठूलो पर्व तिहारको चहलपहल सुरु भएको छ। मधेस प्रदेशका सर्लाहीसहित प्राचीन मिथिलाञ्चल क्षेत्रमा आज शुक्रबार साँझ दीप प्रज्वलन गर्दै धनतेरस पर्व मनाइँदैछ।

सामान्यतया पाँच दिनसम्म मनाइने तिहार यस वर्ष तिथिको घटबढका कारण छ दिनसम्म चल्ने भएको छ। कात्तिक कृष्णपक्षको त्रयोदशीदेखि शुक्लपक्षको द्वितीयासम्म मनाइने यस पर्वको सुरुवात मिथिला परम्पराअनुसार धनतेरसबाट हुन्छ।

धनतेरसका दिन साँझ घरघरमा दीप बाल्ने र नयाँ धातुका भाँडाकुँडा तथा गरगहना खरिद गरी पूजा गर्ने चलन छ। धनधान्यकी देवी लक्ष्मीलाई प्रसन्न पार्ने विश्वासका साथ यस दिन सुन, चाँदी, तामा तथा पित्तलका सामग्री, खरेटो र धनियाँसमेत किन्ने परम्परा रहेको छ।

विज्ञहरुका अनुसार शुक्रबार बिहान सूर्योदय हुँदा द्वादशी तिथि रहे पनि बिहान ११ बजेर १० मिनेटपछि त्रयोदशी सुरु भएकाले आजै धनतेरस मनाउन लागिएको हो। त्रयोदशी तिथि शनिबार बिहान १० बजेर ४७ मिनेटसम्म रहनेछ। यसै तिथिमा गरिने कागपूजा र धन्वन्तरी जयन्ती भने शनिबार मनाइनेछ।

मिथिलाञ्चलमा चाडपर्व, तिथिश्राद्ध तथा शुभकार्यको समय निर्धारण मिथिला पञ्चाङ्ग र विद्यापति पञ्चाङ्गका आधारमा गर्ने परम्परा छ। यहाँ दीपावलीलाई स्थानीय बोलीचालीमा दिवाली पनि भनिन्छ।

पर्वको दोस्रो दिन आइतबार कुकुर पूजा गरिनेछ भने सोही दिन साँझ लक्ष्मीपूजा गर्ने मैथिल परम्परा छ। त्यसपछि विभिन्न धार्मिक तथा सांस्कृतिक विधिअनुसार तिहारका अन्य पर्व मनाउँदै आगामी बुधबार भैयादूज गरेपछि यस वर्षको दीपावली पर्व सम्पन्न हुनेछ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार