सर्लाहीमा पटाकासहित एक जना पक्राउ

२०८३ कार्तिक २१, शनिवार २२:३६

मलंगवा – सर्लाहीमा भारतबाट लुकाइछिपाइ ल्याइएका विभिन्न प्रकारका पटका प्रहरीले बरामद गरेको छ। पटका ल्याउने क्रममा एक जना पक्राउ परेका छन् भने अन्य स्थानमा प्रहरीलाई देखेपछि पटका फालेर केही व्यक्ति फरार भएका छन्।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं डीएसपी वेदप्रसाद गौतमका अनुसार जिल्लाका विभिन्न स्थानमा गरिएको निगरानी तथा चेकजाँचका क्रममा विष्णु गाउँपालिका – ५ फेन्हारा, बरहथवा बजार, पर्सा गाउँपालिकाको सग्रामपुर र बलरा नगरपालिकाको अर्नाहाबाट पटका बरामद गरिएको हो।

उक्त स्थानहरूमा भारतबाट लुकाइछिपाइ पटका ल्याउँदै गरेका व्यक्तिहरू प्रहरी टोलीलाई देखेपछि पटका फालेर फरार भएका थिए। यस्तै, लालबन्दी नगरपालिका – ७ लालबन्दी बजारबाट विभिन्न किसिमका पटका सहित एक जना व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

पक्राउ परेका व्यक्तिमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। पटका तथा विस्फोटकजन्य सामग्रीको प्रयोगले मानव स्वास्थ्यमा गम्भीर असर पार्नुका साथै दुर्घटना, आगलागी तथा मानवीय क्षति हुन सक्ने जोखिम रहेको भन्दै प्रहरीले यसको बिक्रीवितरण र प्रयोग नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार