७२ हजार घुस लिने महोत्तरीका तत्कालीन प्रशासकीय अधिकृतलाई ६ महिना कैद

२०८३ कार्तिक २२, आइतवार १८:०९

सर्लाही – घुस लिएको अभियोगमा पक्राउ परेका महोत्तरीको सोनमा गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत श्रीदेव यादवलाई विशेष अदालतले दोषी ठहर गर्दै ६ महिना कैद सजाय सुनाएको छ। विशेष अदालतले बिहीबार यादवलाई ७२ हजार रुपैयाँ जरिवानासमेत गर्ने फैसला गरेको छ।

साथै, पीडित राहत कोषमा २ हजार २८० रुपैयाँ जम्मा गर्न पनि आदेश दिएको छ। विशेष अदालतका न्यायाधीशहरू वासुदेव आचार्य, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासले उक्त फैसला सुनाएको हो।

यादवले सडक ढलानसम्बन्धी काम सम्पन्न गरेपछि भुक्तानी दिने प्रयोजनका लागि उपभोक्ता समितिसँग ७२ हजार रुपैयाँ घुस लिएको अभियोग लागेको थियो। यसैक्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले गत जेठ ८ गते उनलाई घुस रकमसहित रंगेहात पक्राउ गरेको थियो।

त्यसपछि आयोगले असार ५ गते उनीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो। अदालतले सोही मुद्दामा उनलाई दोषी ठहर गरेको हो।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार