मलङ्गवा – सर्लाहीमा अपहरण गरी बन्धक बनाइएका एक व्यक्तिको प्रहरीले सकुशल उद्धार गरेको छ। घटनामा संलग्न रहेको आरोपमा चार जनासहित घटनालाई अतिरञ्जित गर्ने गलत सूचना दिएको आरोपमा थप दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायब उपरीक्षक (डीएसपी) एवं सूचना अधिकारी वेदप्रसाद गौतमका अनुसार गत कात्तिक २७ गते राति करिब १० बजे गोडैता नगरपालिका–९ निवासी ३७ वर्षीय सुनिल कुमार रायलाई कौडेना गाउँपालिका–२ स्थित फूलपरासी भन्ने स्थानबाट अपहरण गरिएको थियो।

बरहथवा नगरपालिका–५ निवासी ३१ वर्षीय सन्तोष कुमार महतोसहित चार–पाँच जनाको समूहले दुईवटा मोटरसाइकलमा आएर रायलाई कुटपिट गर्दै अपहरण गरी पिकअप गाडीमा राखेर बरहथवातर्फ लगेको प्रारम्भिक अनुसन्धानबाट खुलेको थियो ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार अपहरणमा परेका रायका आफन्तले बरहथवा इलाका प्रहरी कार्यालयमा जानकारी गराएपछि प्रहरीले खोजतलास तथा अनुसन्धान सुरु गरेको थियो।
सोही क्रममा कात्तिक २८ गते बिहान करिब ९ बजे बरहथवा नगरपालिका–५ निवासी राजकुमार महतोको घरमा रायलाई कोठाभित्र बन्धक बनाएर राखिएको अवस्थामा फेला पारी प्रहरीले सकुशल उद्धार गरेको हो। प्रहरीले सोही स्थानबाट सन्तोष कुमार महतोलाई समेत नियन्त्रणमा लिएको थियो।
त्यसपछि अनुसन्धानका क्रममा अपहरणमा संलग्न रहेको आरोपमा बरहथवा नगरपालिका–५ निवासी ५४ वर्षीय बिश्वेश्वर महतो, २७ वर्षीय प्रमोद कुमार महतो र २५ वर्षीय अमित कुमार महतोलाई समेत सोही दिन बरहथवा नगरपालिका–९ स्थित दूध डेरी चोकबाट पक्राउ गरिएको डिएसपि गौतमले जानकारी दिए।
प्रहरीका अनुसार घटनाको अनुसन्धान गर्दै जाँदा अपहरणको कारण वैदेशिक रोजगारीसम्बन्धी विवाद रहेको र सोही विषयको रकम जबर्जस्ती असुल गर्ने उद्देश्यले अपहरण गरिएको खुलेको छ।
त्यस्तै, अपहरणकारीहरूले फिरौती माग गरेको तथा फिरौती रकम तिर्न जाँदा तीन लाख रुपैयाँ र गरगहनासमेत लुटिएको भन्दै गलत सूचना दिई घटनालाई अतिरञ्जित गर्ने बरहथवा नगरपालिका–१२ निवासी ४२ वर्षीय रामनारायण यादव र ४० वर्षीया निलव देवीलाई समेत प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको जनाएको छ।
पक्राउ परेका चारै जना अपहरणमा संलग्न व्यक्तिहरू तथा घटनालाई अतिरञ्जित गर्ने दुई जनामाथि अपहरण तथा शरीर बन्धक कसुरमा सर्लाही जिल्ला अदालतबाट म्याद थप गरी जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।




