सर्लाही – मधेस प्रदेश सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्री जंगीलाल रायलाई सरकारको प्रवक्ताको जिम्मेवारी दिएको छ।
जनकपुरस्थित मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा बसेको मन्त्रीपरिषद् बैठकले प्रवक्ता तोक्ने निर्णयसँगै प्रदेशका दीर्घकालीन समस्याको समाधानका लागि तीनवटा उच्चस्तरीय समिति गठन गर्ने निर्णय गरेको हो।

बैठकले प्रदेशमा देखिएका राजनीतिक, प्रशासनिक, कानुनी तथा आर्थिक–सामाजिक विषयको अध्ययन र समाधानका लागि तीन/तीन सदस्यीय समिति बनाएको जनाएको छ।
राजनीति तथा प्रशासन समितिको संयोजकमा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री श्याम पटेललाई तोकिएको छ। यस समितिमा खेलकुद तथा समाज कल्याण मन्त्री वसन्त कुशवाह र उद्योग, वाणिज्य तथा पर्यटन मन्त्री कनिश पटेल सदस्य छन्।
त्यसैगरी कानुन, न्याय तथा मामिला समितिको संयोजकको जिम्मेवारी श्रम तथा यातायात मन्त्री मनिष सुमनलाई दिइएको छ। समितिमा गृह, सञ्चार तथा कानून मन्त्री फकिरा महतो र वन तथा वातावरण मन्त्री शंकर प्रसाद चौधरी सदस्य रहेका छन्।
आर्थिक तथा सामाजिक समितिको संयोजकमा अर्थमन्त्री महेश यादवलाई जिम्मेवारी दिइएको छ। उक्त समितिमा भौतिक पूर्वाधार विकास मन्त्री राजकुमार गुप्ता र शिक्षा तथा संस्कृति मन्त्री रानी शर्मा सदस्य छन्।
सरकारले यी समितिमार्फत प्रदेशस्तरीय समस्या पहिचान, सरोकारवाला निकायबीच समन्वय र व्यावहारिक समाधानलाई थप प्रभावकारी बनाउने अपेक्षा गरेको जनाएको छ।





