सर्लाही – प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन आयोगका पदाधिकारीहरूसँग छलफल गरेकी छन् । आसन्न प्रतिनिधिसभा सदस्यमा प्रत्यक्षतर्फको उम्मेदवारको मनोनयन गर्ने दिन नजिकिँदै गर्दा आज प्रधानमन्त्रीले निर्वाचन आयोगका पदाधिकारीहरूसँग छलफल गरेकी हुन् ।
उक्त छलफलमा निर्वाचन आयोगले आचार संहिता लागू हुने विषयमा सरकारलाई जानकारी गराएको छ । कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारी नेतृत्वको आयोगको टोलीले आयोगका तर्फबाट आचार संहितबारे विशेष प्रस्तुतीकरण पनि गरिएको थियो ।

जसअनुसार, निर्वाचन आचार संहिता आज राति १२ बजेबाट लागू हुनेछ । आयोगको आजै बसेको बैठकले निर्वाचन आचार संहिता आज राति १२ बजेबाट लागू हुने निर्णय गरेको कार्यवाहक प्रमुख आयुक्त भण्डारीले जानकारी दिए ।
कार्यक्रममा प्रधानमन्त्री सुशीला कार्कीका अलावा मन्त्रिपरिषद्का सदस्यहरु, नेपाल सरकारका मुख्य सचिव तथा गृह मन्त्रालयका अधिकारीहरुको पनि उपस्थिति थियो । आगामी फागुन २१ गते हुने निर्वाचनका लागि यही माघ ६ गते प्रत्यक्षतर्फको उम्मेदवारी मनोनयन गर्नुपर्ने कार्यतालिका रहेको छ ।
कसलाई लाग्छ आचार संहिता?
आचार संहिता नेपाल सरकार र प्रदेश सरकारका मन्त्रीहरू, संवैधानिक निकाय र तिनका पदाधिकारी, संघ, प्रदेश तथा स्थानीय तहका कर्मचारी, सुरक्षा निकाय, सरकारी तथा अर्धसरकारी संस्थाका कार्यालय र कर्मचारी, राजनीतिक दल तथा तिनका भातृ संगठन, उम्मेदवार तथा सम्बन्धित सबै व्यक्ति र निकायमा लागू हुने आयोगले स्पष्ट पारेको छ।





