सर्लाही – जनकपुरबाट भेडेटार शैक्षिक भ्रमणका लागि गएका एक निजी विद्यालयका शिक्षक तथा कर्मचारी सवार बस धरानमा दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ भने १७ जना घाइते भएका छन्।
आइतबार दिउँसो करिब ४:१५ बजे धरानको जिरो प्वाइन्ट क्षेत्रमा जनकपुरस्थित इन्टरनेशनल टेम्स एकेडेमीको को १ ख ७११९ नम्बरको बस अनियन्त्रित भई दुर्घटनामा परेको सुनसरी प्रहरीले जनाएको छ।

भेडेटार भ्रमण सकेर फर्किंदै गर्दा सडकमा आएको एक स्कुटरलाई जोगाउने प्रयास गर्दा बस अनियन्त्रित भई सडक छेउको एक मेडिकल पसलमा ठोक्किएको र त्यसपछि पल्टिएको बताइएको छ।
बसमा विद्यार्थी भने सवार नभएको र विद्यालयका शिक्षक तथा कर्मचारी मात्र रहेको प्रहरीले स्पष्ट पारेको छ। दुर्घटनामा गम्भीर घाइते भएका १७ जनालाई उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको छ।
प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।





