सर्लाहीमा स्वच्छ, निष्पक्ष र भयरहित निर्वाचन गराउने प्रतिबद्धता

२०८२ माघ ४, आईतवार २०:३६

मलंगवा – सर्लाहीका मुख्य निर्वाचन अधिकृत पुष्पराज थपलियाले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न प्रतिवद्ध रहेको बताएका छन् ।

सदरमुकाम मलंगवामा आज आयोजित निर्वाचन आचारसंहिता सम्बन्धी अन्तरक्रियामा जिल्लाका सञ्चारकर्मीसँग कुरा गर्दै उनले निष्पक्ष निर्वाचनका लागि निर्वाचन प्रशासन पूर्ण रूपमा क्रियाशील रहेको बताए। उनले निर्वाचन स्वच्छ बनाउन सबै सरोकारवालाको निगरानी, चासो र सहकार्य आवश्यक रहेको उल्लेख गरे।

उनले निर्वाचन प्रक्रियामा सबै राजनीतिक दल र उम्मेदवारलाई समान व्यवहार गरिने स्पष्ट पारे। उनले निर्वाचन आयोगमा दर्ता भई जिल्लामा क्रियाशील राजनीतिक दलहरूसँग छलफल गरी आचारसंहिताको पूर्ण पालना गर्न आग्रह गरिएको जानकारी दिए।

अन्तरक्रियामा सर्लाहीका प्रमुख जिल्ला अधिकारी (सिडिओ) रामुराज कडरियाले निर्वाचनलाई शान्तिपूर्ण बनाउन सबै पक्षको सहयोग अपरिहार्य रहेको बताए। उनले निर्वाचनलाई प्रभावित पार्ने गतिविधि देखिएमा तुरुन्तै सुरक्षा निकाय वा निर्वाचन अधिकृतको कार्यालयमा जानकारी गराउन सञ्चारकर्मीमार्फत स्थानीयवासीलाई आग्रह गरे।

त्यसैगरी, सर्लाहीका प्रहरी प्रमुख (एसपी) योगेन्द्रकुमार खड्काले सामाजिक सञ्जालमार्फत फैलाइने भ्रामक तथा मिथ्या सूचनालाई नियन्त्रण गर्न प्रहरीले विशेष शाखा स्थापना गरेको जानकारी दिए। यस्ता गतिविधिमा संलग्नलाई पहिचान गरी कानुनी कारबाही गरिने उनले बताए।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार