सर्लाही – सिरहामा जलेको अवस्थामा एक महिलाको शव फेला परेको छ। जिल्लाको मिर्चैया नगरपालिका – ७ स्थित छ घरे बस्तीबाट करिब एक किलोमिटर उत्तरतर्फ पर्ने टेना खोलामा बेवारिसे अवस्थामा शव फेला परेको हो।
खोलामा जलेको शव देखेपछि स्थानीयले तुरुन्तै प्रहरीलाई जानकारी गराएका थिए। सूचनापछि घटनास्थलमा पुगेको प्रहरी टोलीले शव नियन्त्रणमा लिई कानुनी प्रक्रिया सुरु गरेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी उपरीक्षक अनन्तराम शर्माका अनुसार शव लामो समयअघि खोलामा फालिएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ। शवको तल्लो भाग हड्डी मात्र बाँकी रहेको र माथिल्लो भाग आंशिक रूपमा जलेको अवस्थामा भेटिएको उनले बताए।
शरीरका विभिन्न भागमा दाग तथा चोटका चिन्ह देखिएकाले महिलाको हत्या गरी शव जलाएर खोलामा फ्याँकिएको हुन सक्ने प्रहरीको आशंका छ। हालसम्म मृतक महिलाको पहिचान खुल्न नसकेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।





