सर्लाही – तनहुँको आबुखैरेनी गाउँपालिका–५ दोन्द्राङवेसीस्थित त्रिशूली नदीको किनारमा फेला परेको ‘गणपति डिलक्स’ बसको उत्खनन कार्य आजदेखि स्थगित गरिएको छ। उत्खनन सुरु भएको १७औँ दिनमा प्राविधिक तथा भौगोलिक कठिनाइ देखिएपछि काम रोक्ने निर्णय गरिएको सहायक प्रमुख जिल्ला अधिकारी दीपक रेग्मीले जानकारी दिए।
उनका अनुसार बसको केही भाग पानीबाट बाहिर निकालिए पनि बाँकी भाग निकाल्न समस्या आएपछि उत्खनन तत्कालका लागि स्थगन गरिएको हो। गत पुस २६ गते नदी किनारमा बस भेटिएपछि पुस २७ गतेदेखि निरन्तर उत्खनन भइरहेको थियो। उत्खननको १६औँ दिन हिजो बसको भित्री भागबाट मानव कङ्काल फेला परेको थियो।

यस विषयमा थप अनुसन्धान अघि बढाइएको सहायक प्रमुख जिल्ला अधिकारी रेग्मीले बताए। विसं २०८१ असार २८ गते चितवनको भरतपुर महानगरपालिका–२९ स्थित सिमलताल क्षेत्रमा लेदोसहितको पहिरो खस्दा काठमाडौँबाट गौरतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००१ ख २४९५ नम्बरको ‘गणपति डिलक्स’ बस त्रिशूली नदीमा खसेर बेपत्ता भएको थियो। सोही बस केही महिनापछि पुस २६ गते तनहुँतर्फ नदी किनारमा फेला परेको हो।





