मलंगवा – आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई ध्यानमा राख्दै परराष्ट्र मन्त्री बालानन्द शर्माले सर्लाहीका सुरक्षा निकायका प्रमुखहरूसँग छलफल गरेका छन्।
जिल्लाको लालबन्दी नगरपालिका – २ स्थित नेपाली सेनाको कालीध्वज गण, पाँचकुमारी ब्यारेकमा आज साँझ भएको छलफलमा मन्त्री शर्माले निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयमुक्त बनाउन सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको स्पष्ट पारे।

यस पटक सर्लाहीमा राष्ट्रियस्तरका प्रभावशाली नेताहरू चुनावी प्रतिस्पर्धामा रहेकाले सुरक्षामा थप सतर्कता अपनाउन आवश्यक रहेको उनले बताए। कुनै पनि किसिमको अवाञ्छित गतिविधि हुन नदिन सुरक्षा व्यवस्थापन मजबुत बनाउन उनले निर्देशन दिएको एक सुरक्षा अधिकारीले बताएका छन्।
मन्त्री शर्मा जिल्लाको शान्ति–सुरक्षा अवस्था तथा निर्वाचनको तयारी बुझ्ने उद्देश्यसहित सर्लाही पुगेका हुन्। उनको जिल्ला सदरमुकाम मलंगवा पुगेर सुरक्षा अधिकारीहरूसँग छलफल गर्ने कार्यक्रम रहे पनि समय अभावका कारण नेपाली सेनाको गणमै सुरक्षा अधिकारीहरूलाई बोलाएर छलफल गरिएको हो।
छलफलका क्रममा प्रमुख जिल्ला अधिकारी रामुराज कडरिया, प्रमुख सेनानी उमेश खड्का, प्रहरी उपरीक्षक योगेन्द्रकुमार खड्का, सशस्त्र प्रहरी उपरीक्षक देवबहादुर चन्द र जिल्ला निर्वाचन अधिकारी ऋषिराम पौडेललगायतले जिल्लाको सुरक्षा अवस्था र चुनावी तयारीबारे मन्त्री शर्मालाई जानकारी गराएका थिए।





