मलंगवा – सर्लाहीको गोडैता नगरपालिकामा लामो समयदेखि प्रमुख प्रशासकीय अधिकृत नहुँदा स्थानीय सरकारको प्रशासनिक कामकाज प्रभावित बन्दै गएको छ। यसैबीच, नगरपालिकाका प्रमुख देवेन्द्र कुमार यादवले संघीय सरकारले प्रमुख प्रशासकीय अधिकृत नपठाएसम्म आफू नगरपालिका कार्यालयमा उपस्थित नहुने घोषणा गरेका छन्।
प्रमुख प्रशासकीय अधिकृतको व्यवस्था गरिदिन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय धाउँदा-धाउँदै निराश भएपछि यस्तो निर्णय लिनु परेको मेयर यादवले बताएका छन्। उनका अनुसार गोडैता नगरपालिकामा कार्यरत उपसचिव शम्भुप्रसाद यादव मंसिर २४ गते सन्चार तथा सूचना प्रविधि मन्त्रालयमा सरुवा भएपछि हालसम्म उक्त पद रिक्त अवस्थामा छ।

मन्त्रालयले पुस १४ गते उपसचिव हेम बहादुर कार्कीलाई गोडैता नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतका रूपमा सरुवा गरे पनि उनी हालसम्म नगरपालिकामा हाजिर भएका छैनन्। यसका कारण नगरपालिकाको दैनिक प्रशासनिक कार्य, सेवा प्रवाह तथा विकास निर्माणका कामहरू प्रत्यक्ष रूपमा प्रभावित भएको नगरप्रमुख यादवको भनाइ छ।
प्रमुख प्रशासकीय अधिकृत पठाइदिन आग्रह गर्दै आफू पटक-पटक काठमाडौं पुगे पनि मन्त्रालयले कुनै कर्मचारी पठाउन नसकेको नगरप्रमुख यादवको गुनासो छ। संघीय सरकारको बेवास्ताका कारण स्थानीय तहको कामकाज नै ठप्प हुने अवस्था सिर्जना भएको उनले बताए।






