निर्वाचनमा निष्पक्ष रहन सशस्त्र प्रहरीलाई महानिरीक्षक अर्यालको निर्देशन

२०८२ माघ १५, बिहीबार २०:२७

सर्लाही – आगामी प्रतिनिधि सभाको निर्वाचनलाई निष्पक्ष र शान्तिपूर्ण रूपमा सम्पन्न गराउन सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक राजु अर्यालले संगठनलाई स्पष्ट निर्देशन दिएका छन्। उनले निर्वाचनको क्रममा कुनै पनि राजनीतिक दल वा उम्मेदवारको पक्ष नलिन र पूर्ण तटस्थता कायम गर्न आग्रह गरेका हुन्।

निर्वाचन सुरक्षासम्बन्धी विषयमा आयोजित वरिष्ठ अधिकृत सम्मेलनलाई सम्बोधन गर्दै महानिरीक्षक अर्यालले सबै सुरक्षा गतिविधि निष्पक्ष र व्यावसायिक ढंगले सञ्चालन गर्न निर्देशन दिए। उनले चुनावी प्रतिस्पर्धामा रहेका सबै उम्मेदवारसँग आवश्यक समन्वय राख्दै शान्ति सुरक्षा मजबुत बनाउनेतर्फ ध्यान दिन पनि जोड दिए।

सशस्त्र प्रहरीको प्रधान कार्यालयमा बिहीबार सम्पन्न सम्मेलनमा देशभरका बाहिनीपतिहरू भर्चुअल माध्यमबाट सहभागी भएका थिए। सम्मेलनमा बोल्दै महानिरीक्षक अर्यालले फिल्डमा खटिने कमान्डरहरूलाई निर्वाचन लक्षित सुरक्षा कारबाहीमा आवश्यक निर्णय लिन स्वतन्त्रता दिइएको बताए।

त्यसैगरी, निर्वाचनका लागि परिचालित निर्वाचन प्रहरीलाई मर्यादित, सभ्य र जिम्मेवार व्यवहार प्रदर्शन गर्न निर्देशन दिँदै उनले जनताको विश्वास जित्ने गरी काम गर्नुपर्ने उल्लेख गरे।

सम्मेलनमा आगामी निर्वाचनसँग जोडिएका सुरक्षा चुनौती, वर्तमान अवस्था, सम्भावित जोखिम तथा कुनै पनि मानवीय क्षति हुन नदिन अन्य सुरक्षा निकाय र सरोकारवाला संस्थासँग निरन्तर समन्वय र सहकार्य गर्ने विषयमा विस्तृत छलफल भएको सशस्त्र प्रहरी बलले जनाएको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार