मधेश प्रदेशसभामा मातृभाषाको प्रवेश, सभामुख यादवले गरे मैथिलीबाटै बैठकको सुरुवात

२०८२ माघ १७, शनिबार २०:१९

सर्लाही – मधेश प्रदेश सभामा पहिलोपटक मातृभाषा मैथिलीको औपचारिक प्रयोग भएको छ । सभामुख राम आशिष यादवले प्रदेशसभा बैठकको प्रारम्भ मैथिली भाषामै गर्दै भाषिक समावेशिताको नयाँ अभ्यास सुरु गरेका हुन् ।

प्रदेशसभा स्थापना भएको झन्डै आठ वर्षपछि सभामुख यादवले मातृभाषा मार्फत सभाको उद्देश्य, भूमिका र कार्यसूची प्रस्तुत गर्दै भाषाको सम्मानप्रति स्पष्ट सन्देश दिएका छन् । बैठकको प्रारम्भिक चरण मैथिली भाषामा सञ्चालन भए पनि त्यसपछिका कार्यसूची भने नेपाली भाषामै अघि बढाइएको थियो ।

मधेश प्रदेशको कामकाजी भाषा हालसम्म औपचारिक रूपमा निर्धारण नभएकाले दुवै भाषालाई समेटेर बैठक सञ्चालन गरिएको सभामुख यादवले बताए । प्रदेशसभाको पहिलो बैठकमै भाषाका कारण अनावश्यक विवाद नहोस् भन्ने उद्देश्यले सन्तुलित अभ्यास अपनाइएको उनको भनाइ छ ।

मातृभाषाको सम्मान गर्दै सबै प्रदेशसभा सदस्यलाई सहज हुने वातावरण निर्माण गर्न मैथिली र नेपाली दुवै भाषाको प्रयोग गरिएको सभामुख यादवले स्पष्ट पारे ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार