मलंगवा – सर्लाही जिल्लामा चालु आर्थिक वर्षको पहिलो छ महिनामा सवारी दुर्घटनामा परि २९ जनाको मृत्यु भएको छ भने, १९० जना गम्भीर घाइते भएका छन्।
जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार यस अवधिमा चारपाङ्ग्रे सवारी र मोटरसाइकल गरी ६४१ वटा सवारी दुर्घटना भएका छन्। दुर्घटनामा ज्यान गुमाउनेमध्ये अधिकांश मोटरसाइकल चालक र सवार रहेका छन्। भित्री सडकखण्डमा दुर्घटनाको दर बढी देखिएको छ।

यसै अवधिमा ट्राफिक नियम उल्लङ्घन गर्ने सवारीबाट ४८ लाख २८ हजार ५०२ रुपैयाँ राजस्व सङ्कलन गरिएको छ। हेलमेट नलगाउने, चालक अनुमतिपत्र नहुने, क्षमता भन्दा बढी सामान बोक्ने सवारीलाई कारबाही गरिएको प्रहरीले जनाएको छ।
सवारी चालक र पैदलयात्रीले ट्राफिक नियम पालना नगर्दा दुर्घटना बढेको भन्दै प्रहरीले विद्यालयका विद्यार्थी, स्थानीयवासी र पैदलयात्रीलाई लक्षित गरी पटक–पटक सचेतना कार्यक्रम सञ्चालन गरेको जनाएको छ।





