सर्लाही – पूर्वमन्त्री जितेन्द्रनारायण देवले नेकपा एमाले परित्याग गरेका छन्। सोमबार सप्तरीमा आयोजित पत्रकार सम्मेलनमार्फत उनले पार्टी परित्याग गरेको घोषणा गरेका हुन्।
नेपाली कांग्रेसबाट एमाले प्रवेश गरेका देवले छोटो समयमै पार्टी त्यागेका हुन्। उनले देशमा व्याप्त कुशासन, भ्रष्टाचार, बेरोजगारी र युवाको बढ्दो वैदेशिक पलायनप्रति गहिरो असन्तोष रहेको उल्लेख गर्दै भदौ २३ गतेको ‘जेनजी विद्रोह’ त्यसैको परिणाम भएको बताएका छन्।

देवका अनुसार उक्त आन्दोलनलाई सही रूपमा बुझ्न नखोजी ‘विदेशी षड्यन्त्र’ भनेर व्याख्या गर्नु, पार्टीभित्र व्यक्तिवाद र देवत्वकरणलाई बढावा दिनु तथा स्वेच्छाचारी र विभेदपूर्ण ढंगले पार्टी सञ्चालन गरिनु आफ्नो असहमतिको प्रमुख कारण बनेको हो। यही कारणले आजकै मितिदेखि एमाले परित्याग गरेको उनले स्पष्ट पारेका छन्।
मानन्धर समूहबाट राजनीतिक यात्रा थालेका देव विभिन्न समयमा नेकपा एमाले, नेकपा माले, मधेशी जनअधिकार फोरम, लोकतान्त्रिक फोरम हुँदै नेपाली कांग्रेससम्म सक्रिय रहेका छन्। यसअघि कांग्रेसबाट राष्ट्रिय सभाका सांसदको रूपमा ६ वर्षे कार्यकाल पूरा गरेपछि पनि उनले पार्टी छोडेका थिए।





