राति सुत्नु अघि के गर्ने, के नगर्ने ?

२०८२ माघ २२, बिहीबार २१:४५

सर्लाही – राति राम्रोसँग निद्रा पर्‍यो भने बिहान शरीर हलुका, मन प्रसन्न र दिनभर ऊर्जा भरिएको महसुस हुन्छ। वास्तवमा, स्वस्थ जीवनका लागि निद्रा औषधिभन्दा कम महत्वपूर्ण छैन। तर आजभोलि धेरै मानिस निद्राको समस्याबाट ग्रसित छन्, जसको मुख्य कारण जीवनशैली र बानी नै हो।

निद्रा नलाग्ने समस्या केवल रोगका कारण मात्र होइन। सुत्ने–उठ्ने समय अनियमित हुनु, अत्यधिक मानसिक तनाव, मोटोपन, डिप्रेसन, मधुमेहजस्ता स्वास्थ्य समस्या हुँदा पनि निद्रा बिग्रन्छ। कहिलेकाहीँ कुनै रोग लाग्यो कि भन्ने डर र चिन्ताले समेत रातभर आँखा खुल्लै रहन्छ।

यदि तपाईं पढाइ वा कम्प्युटरमा लामो समय काम गर्नुहुन्छ भने सुत्न जानुभन्दा कम्तीमा आधा घण्टा अगाडि काम रोक्नुहोस्। त्यो समय मन शान्त बनाउने, रिल्याक्स हुने प्रयास गर्नुहोस्। ओछ्यानमा पल्टिएसँगै मोबाइल चलाउने, फेसबुक स्क्रोल गर्ने, च्याटिङ गर्ने बानी निद्राको सबैभन्दा ठूलो दुश्मन हो। सुत्ने बेला मोबाइल साइलेन्समा राखेर टाढै राख्नु राम्रो हुन्छ।

बिहान र साँझ हल्का शारीरिक व्यायाम गर्दा शरीर सक्रिय हुन्छ र राति छिटो निद्रा लाग्छ। दिउँसो लामो समय सुत्ने बानीले भने रातको निद्रामा बाधा पुर्‍याउँछ। बेलुकापख कफी, कडा चिया, कोल्ड ड्रिङ्क जस्ता क्याफिनयुक्त पदार्थ सेवन नगर्नु नै उपयुक्त हुन्छ। सामान्यतया राति १० बजेदेखि १०ः३० बजेसम्म सुत्न जानु राम्रो मानिन्छ।

धेरै छिटो सुत्न खोज्दा पनि गहिरो निद्रा नपर्न सक्छ। रक्सी सेवन गर्दा निद्रा खण्डित हुने, बारम्बार ब्युँझिने समस्या देखिन्छ। सुत्नुभन्दा आधा घण्टा अगाडि चुरोट वा सुर्तीजन्य पदार्थ प्रयोग नगरे निद्रा सहजै आउँछ। पेट धेरै भोको वा अत्यधिक पानी पिएको अवस्थामा पनि निद्रामा असर पर्न सक्छ।

सधैँ एउटै समयमा सुत्ने र एउटै समयमा उठ्ने बानी बसाल्दा शरीरको जैविक घडी मिल्छ र निद्राको समस्या कम हुँदै जान्छ। सम्भव भए सुत्नुभन्दा एकदेखि डेढ घण्टा अगाडि मनतातो पानीले नुहाउँदा शरीर र मन दुवै रिल्याक्स हुन्छ। औषधिको सहारामा निद्रा खोज्नु भन्दा प्राकृतिक उपाय अपनाउनु राम्रो हुन्छ। सुत्नुअघि मनतातो दूध पिउँदा पनि निद्रामा मद्दत पुग्छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार