बरहथवामा एमालेको निर्वाचन परिचालन सम्पर्क कार्यालय सञ्चालनमा

२०८२ माघ २८, बुधबार २१:२६

मलंगवा – आगामी निर्वाचनलाई लक्षित गर्दै नेकपा एमालेले सर्लाही क्षेत्र नं. ४ अन्तर्गत बरहथवा नगरपालिका वडा नं. १३, १४ र १५ का लागि निर्वाचन परिचालन सम्पर्क कार्यालय स्थापना गरेको छ। नगरपालिका – १५ स्थित पिपराभित्ता बजारमा आयोजित एक कार्यक्रमबीच कार्यालयको औपचारिक उद्घाटन गरिएको हो।

उद्घाटन कार्यक्रममा एमालेकी केन्द्रीय सदस्य तथा बरहथवा नगरपालिकाकी नगर प्रमुख कल्पना कटुवाल प्रमुख अतिथिका रूपमा सहभागी भइन्। कार्यक्रममा संविधान सभा सदस्य शिवपुजन राय यादव, नेकपा एमाले सर्लाहीका जिल्ला उपाध्यक्ष विदुर प्याकुरेल, बरहथवा नगरपालिकाका उपप्रमुख रामबाबु शाह तथा प्रतिनिधि सभा सदस्यका उम्मेदवार अमनिश कुमार यादव विशिष्ट अतिथिका रूपमा उपस्थित थिए।

साथै विभिन्न वडाका अध्यक्ष, स्थानीय जनप्रतिनिधि, पार्टी नेता तथा कार्यकर्ताको उल्लेख्य उपस्थिति रहेको थियो। कार्यक्रममा बोल्ने नेताहरूले आसन्न निर्वाचनमा पार्टीलाई विजय गराउन संगठन सुदृढीकरण, मतदाता भेटघाट र घरदैलो अभियानलाई प्रभावकारी बनाउनु आवश्यक रहेको बताएका थिए। उद्घाटनसँगै निर्वाचन केन्द्रित कार्यक्रमहरूलाई थप सक्रिय र व्यवस्थित रूपमा अघि बढाइने जनाइएको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार