मलंगवा – प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ लाई स्वच्छ, निष्पक्ष, पारदर्शी तथा भयरहितमुक्त वातावरणमा सम्पन्न गर्ने उद्देश्यले सर्लाहीमा उच्चस्तरीय समन्वयात्मक बैठक सम्पन्न भएको छ।
जिल्ला सुरक्षा समिति सर्लाहीका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी रामु राज कडरीयाको अध्यक्षतामा बसेको बैठकमा जिल्ला समन्वय समिति सर्लाहीका प्रमुख, माननीय मुख्य निर्वाचन अधिकृत, जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरू तथा विभिन्न राजनीतिक दलका प्रमुख एवं प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

बैठकमा जिल्लाको समग्र शान्ति सुरक्षा अवस्था, निर्वाचन आचार संहिताको प्रभावकारी कार्यान्वयन, मतदान स्थल र मतदान केन्द्रहरूको तयारी तथा सुरक्षा व्यवस्थालगायतका विषयमा विस्तृत छलफल गरिएको थियो।
छलफलपछि निर्वाचन आचार संहितालाई जिल्लास्थित सबै राष्ट्रसेवक कर्मचारी तथा राजनीतिक दलहरूले इमान्दारीपूर्वक पालना गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ। निर्वाचनको सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै मिति २०८२ फाल्गुन १५ गतेदेखि २२ गतेसम्म विदेशी नम्बर प्लेटका दुई पाङ्ग्रे, चार पाङ्ग्रे लगायतका सवारी साधन सञ्चालनमा पूर्ण रूपमा रोक लगाउने निर्णय गरिएको छ।
सो अवधिमा कसैले त्यस्ता सवारी साधन सञ्चालन गरेको पाइएमा सुरक्षाकर्मीले नियन्त्रणमा लिने र उक्त कार्यमा सबै पक्षले सहयोग गर्ने सहमति भएको छ। बैठकले निर्वाचनलाई शान्तिपूर्ण र व्यवस्थित रूपमा सम्पन्न गर्न आपसी समन्वय, सहकार्य र कानुनको पूर्ण पालना आवश्यक रहेको निष्कर्ष निकालेको छ।





