गोडैता – सर्लाहीको गोडैता नगरपालिका – ९ बकैनियामा अवैध रूपमा उत्पादन भइरहेको घरेलु मदिरा प्रहरीले नष्ट गरेको छ। विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट खटिएको प्रहरीको टोलीले शुक्रबार साँझ उक्त स्थानमा छापा मारेको थियो।
सो क्रममा मदिरा बनाउन प्रयोग हुँदै आएको करिब २ हजार २ सय लिटर कच्चा पदार्थ तथा १५ लिटर तयार घरेलु मदिरा नष्ट गरिएको प्रहरीले जनाएको छ। साथै, मदिरा उत्पादनमा प्रयोग हुने मेसिन तथा अन्य उपकरणहरू नियन्त्रणमा लिइएको छ।

अवैध मदिरा उत्पादन र बिक्री वितरण नियन्त्रणका लागि निगरानी तथा कारबाहीलाई थप कडाइका साथ अगाडि बढाइने जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।





