मलंगवा – सर्लाहीको मलंगवा नगरपालिका – १० देवीटोलमा गोली प्रहारबाट एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा सिरहा सुखीपुर नगरपालिका – ६ बैशाखा घर भई हाल मलंगवामा डेरा गरी बस्दै आएका ३६ वर्षीय प्रमोद कुमार यादव रहेका छन्।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार बुधबार बेलुका करिब ८ बजे अज्ञात व्यक्तिले यादवमाथि गोली प्रहार गरेका थिए। गोली लागेर घर अगाडिको प्यासेजमा लडेका उनलाई उनकी श्रीमतीले देखेपछि तत्काल प्रहरीलाई खबर गरेकी थिइन्।

सूचनापछि सर्लाहीका प्रहरी उपरीक्षक योगेन्द्र कुमार खड्काको कमाण्डमा २५ जनाको टोली घटनास्थलमा खटिएको थियो। गम्भीर घाइते यादवलाई उपचारका लागि प्रादेशिक अस्पताल मलंगवा पठाइएकोमा राति ८ बजेर ३७ मिनेटमा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ।
यादव जिल्ला पूर्वाधार विकास कार्यालयमा सब इन्जिनियरका रूपमा कार्यरत थिए। घटनास्थल जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट करिब २ किलोमिटर उत्तरतर्फ पर्छ। घटनामा संलग्न व्यक्तिहरू फरार रहेको र उनीहरूको खोजी तथा घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।





