मलंगवामा सब-ईन्जिनियर हत्या प्रकरण: मधेसका गृहमन्त्री महतो घटनास्थलमा

२०८२ फाल्गुन ४, सोमबार १६:५२

मलंगवा – मधेश प्रदेशका गृह, सञ्चार तथा कानून मन्त्री फकिरा महतो सर्लाहीमा सब इन्जिनियर प्रमोद कुमार यादवको हत्या भएको घटनास्थलमा पुगेका छन्। मन्त्री महतोले घटनाको सत्यतथ्य छानबिन गरी दोषीलाई कानुनी दायरामा ल्याउन सम्पूर्ण सुरक्षा निकायलाई कडा निर्देशन दिएका छन्।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार जिल्ला पूर्वाधार विकास कार्यालय मलंगवामा कार्यरत ३६ वर्षीय प्रमोद कुमार यादवको आइतबार बेलुका करिब ८ बजे अज्ञात समूहले गोली हानी हत्या गरेको हो। सिरहाको सुखीपुर नगरपालिका–६ बैशाखा घर भई हाल मलंगवा नगरपालिका – १० देवीटोलमा डेरा गरी बस्दै आएका यादवमाथि छातीमा गोली प्रहार गरिएको प्रहरीले जनाएको छ।

इन्जिनियर यादव भर्खरै निधन भएका बाबुको काजकिरिया सकेर सर्लाहीको मलंगवा हिजो मात्रै फर्किएका तर राति अज्ञात समूहले उनि बस्ने कोठा बाहिर बोलाएर गोलि हानी फरार भएका थिए। प्रहरीले अनुसन्धान भईरहेको जनाएपनि अहिलेसम्म यादवलाई हत्या गर्नेहरुलाई पक्राउ गर्न सकेको छैन।

यस्तै, यस घटनाप्रति नेपाल ईन्जिनियर्स एशोसिएसन, मधेश प्रदेश प्रादेशिक केन्द्र जनकपुरधामले गम्भीर आपत्ति जनाएको छ। संघले घटनामा संलग्न व्यक्तिहरूलाई तत्काल पक्राउ गरी कानुनबमोजिम कडा कारबाही गर्न प्रशासनसँग माग गर्दै अन्यथा थप कडा कदम चाल्ने चेतावनी दिएको छ।

हत्याको विरोध गर्दै आज ( सोमबार ) एक दिनका लागि जिल्ला अदालत सर्लाहीको सम्पूर्ण सेवा स्वस्फूर्त रूपमा बन्द गरिएको छ भने घटनाप्रति आपत्ति जनाउँदै तथा दोषीमाथि कडा कारबाहीको मागसहित न्यायिक सेवा स्थगित गरिएको अदालतका श्रेस्तेदार ज्ञानबहादुर खत्रीले जानकारी दिए।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार